धौलागिरि आरोहणका क्रममा हराएका ५ जना रुसी नागरिकको ज्यान गएको शङ्का

सेयर गर्नुहोस

काठमाण्डाै – धौलागिरि हिमाल आरोहणका क्रममा हराएका पाँच जना रुसी नागरिकको ज्यान गएको हुनसक्ने पर्यटन विभागले जनाएको छ ।

अस्ति आइतवार रातिदेखि हराइरहेका ६ जना रुसी नागरिककाे खोजी गर्ने क्रममा हेलिकप्टरबाट सात हजार ६ सय मिटरको उचाइमा पाँच जना लडिरहेका देखेकोले उनीहरूको ज्यान गएको अनुमान गरेको पर्यटन विभागका निर्देशक राकेश गुरुङले उज्यालोलाई जानकारी दिनुभयो ।

हिमाल आरोहणका क्रममा झन्डै आठ हजार मिटरको उचाइमा पुगेका ६ जना रुसी नागरिक खराब मौसमका कारण फर्किएका थिए । तर उनीहरू बाटोबाटै सम्पर्कविहीन भएको जानकारीपछि आज हेलिकप्टरबाट खोजी गरेको विभागका निर्देशक गुरुङले बताउनुभयो ।

हिजो मौसम खराबीका कारण हेलिकप्टर जान नसकेकले आज हेलिकप्टरबाट खोजिएको हो । ६ जनामध्ये एक जनालाई पहिलो शिविरमा सकुशल भेटेर उद्धार गरेको गुरुङले बताउनुभयो । सात हजार ६ सय मिटरमा हेलिकप्टर बस्न नसक्ने भएकोले उद्धारकर्तालाई त्यहाँ पुर्‍याएर उद्धार गर्ने प्रयास भइरहेको पनि उहाँले बताउनुभयो ।

Facebook Comments Box