२५ मंसिर २०८१, मंगलवार

साफ महिला च्याम्पियनसिप : २७ सदस्यीय टोली घोषणा

काठमाडौं : घरेलु मैदानमा आयोजना गरिने साफ महिला च्याम्पियनसिपका लागि २७ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ।

४० खेलाडीसहित प्रारम्भिक चरणको अभ्यास थालेका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले १३ खेलाडीलाई बाहिर पठाएर २७ सदस्यीय टोली घोषणा गरेका हुन्।

टिममा गोलकिपरको रुपमा अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ र सुशीला चौधरी रहेका छन्।

डिफेन्डरहरुमा गीता राणा, अमृता जैसी, समीक्षा घिमिरे, निशा थोकर र पूजा राना छन्। यस्तै विमला विक, हिरा कुमारी भुजेल, प्रतिक चौधरी र सजनी थोकरलाई पनि डिफेन्डरकै रुपमा टिममा सामेल गरिएको छ।

मिडफिल्डरमा रेणुका नरकोटी, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी र सरस्वती हमाल रहेका छन्।

फरवार्डमा रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, रेखा पौडेल र सावित्रा भण्डारीलाई सामेल गरिएको छ।

सातौ संस्करणको साफ महिला च्याम्पियनसिप दशरथ रंगशालामा कार्तिक १ देखि १४ गतेसम्म आयोजना हुने छ । सहभागी ७ टिमलाई दुई समूहमा विभाजन गरिएको छ।

साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ए मा छन्। समूह बीमा नेपालसँगै भुटान, श्रीलंका र माल्दिभ्स छन्।

प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्ने छन् भने नेपालले आफ्नो पहिलो खेलमा कार्तिक २ गते भुटानसँग खेल्नेछ।

दोस्रो खेलमा ६ गते माल्दिभ्स र समूहको तेस्रो खेलमा कार्तिक ८ गते श्रीलंकासँग खेल्नेछ। दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

फाइनल खेल कार्तिक १४ गते हुनेछ। हालसम्म खेलिएका ६ मध्ये ५ संस्करणमा उपविजेता रहेको नेपालले यस पटक घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य राखेको छ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट