पाकिस्तान र बंगलादेशको विजयी सुरुवात

काठमाडौं : नवौं संस्करणको महिला टि-ट्वान्टी विश्वकपमा बंगलादेश र पाकिस्तानले विजयी सुरुवात गरेका छन्। शारजाहमा भएका खेलमा बंगलादेशले स्कटल्यान्डलाई र पाकिस्तानले श्रीलंकालाई पराजित गरेका हुन्।
गएराति भएको दोस्रो खेलमा पाकिस्तानले श्रीलंकामाथि ३१ रनको जित हासिल गर्यो पाकिस्तानले दिएको १ सय १७ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८५ रन मात्र बनाउँन सक्यो। श्रीलंकाका लागि निलकेशिका सिल्भाले २५ बलमा सर्वाधिक २२, बिश्मी गुणारत्नेले ३४ बलमा २० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन्।
पाकिस्तानका लागि सदिया इकवालले ३, फतिमा साना, नर्शा सन्धु र ओमामी सोहिलले समान २ विकेट लिईन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा अल आउट हुदै १ सय १६ रन बनायो।
पाकिस्तानका लागि कप्तान फतिमा सानाले २० बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३० रन जोडिन्। निदा दरले २२ बलमा २३, ओमिमा सोहेलले १८ तथा ओपनर मुनिबा अलिले ११ रन बनाईन्।
श्रीलंकाका लागि उडिशिका प्रबोदनी, कप्तान चमारी अथापाथु सुगन्धिका कुमारीले समान ३ तथा कबिशा दिल्हारीले १ विकेट लिईन्।
समूह ए मा पहिलो जितका साथ पाकिस्तान शीर्ष स्थानमा छ।
बिहीबार नै भएको पहिलो खेलमा बंगलादेशले स्कटल्यान्डमाथि १६ रनको जित हासिल गर्यो। समूह बी को पहिलो खेलमा बंगलादेशले दिएको १ सय २० रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३ रन मात्र बनाउँन सक्यो। समूह बी मा पहिलो जितका साथ बंगलादेश शिर्ष स्थानमा छ।
प्रतियोगिता अन्तरगत आज दक्षिण अफ्रिका र वेष्ट इन्डिज तथा भारत र न्यूजिल्याण्ड भिड्ने छन्।
कात्तिक ४ गतेसम्म हुने प्रतियोगितामा १० राष्ट्रको सहभागीता छ। सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । जसअनुसार समूह ए मा साविक विजेता अस्ट्रेलियासहित भारत, पाकिस्तान, श्रीलंका र न्युजिल्यान्ड रहेका छन् ।
समूह बी मा भने दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बंगलादेश, स्कटल्यान्ड र इङ्ग्ल्यान्ड रहेका छन् । हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।