प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आज

सेयर गर्नुहोस

काठमाडौं : नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न सोमबार संवैधानिक परिषद्को बैठक बस्दैछ। बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

यसअघि भदौ २८ गतेको बैठक कुनै निर्णय नगरी सकिएपछि पुनः बैठक बस्न लागेको हो।

आगामी असोज २० गतेदेखि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अनिवार्य अवकाशमा जाने भएपछि नयाँ प्रधानन्यायाधीशको नियुक्तिका लागि बैठक बोलाइएको स्रोतले जनाएको छ। बैठकले हालका वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा सिफारिस गर्ने सम्भावना छ।

यसबाहेक रिक्त रहेका संवैधानिक निकायका पदाधिकारी पनि नियुक्त हुनसक्ने जनाइएको छ।

निर्वाचन आयोगमा एक सदस्य रिक्त छ। यसै गरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा एक र समावेशी आयोगमा एक सदस्य रिक्त छ।

राजनीतिक असहमति र शक्ति सन्तुलनको संघर्षका कारण संवैधानिक निकायमा नियुक्ति प्रक्रियामा विलम्ब हुँदै आएको छ।

Facebook Comments Box