मासियो माझी समुदायको पितृ नचाउने थलो

सेयर गर्नुहोस

काभ्रेपलाञ्चोक : माझी समुदायका पितृ नचाउने ठाउँ मासिएको छ। भुम्लु गाउँपालिकास्थित ठाँटीडाँडामा रहेको स्थानमा सिँचाइका लागि पोखरी खनिएपछि उनीहरूको साँस्कृतिक कर्ममा समस्या भएको छ ।

शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, भुम्लु-६, कोलाँती भुम्लु तल्लो गाउँका माझी आफ्नो धरोहर गुमेकोमा चिन्तित छन्। कोही नयाँ मान्छे देख्नेबित्तिकै उनीहरूको गुनासो ठाँटीडाँडा चौर मासिएर पोखरीको खाल्डो खनेकामा नै हुने गरेको छ।

 

काभ्रेपलाञ्चोक जिल्लाको भुम्लुका माझीले हरेक वर्ष दसैँको टीकाको अघिल्लो दिनदेखि टीकाको पर्सिपल्टसम्म पितृ नचाउने गर्छन्। स्थानीय पुरुषोत्तम माझी पुर्खाकै पालादेखि ठाँटीडाँडामा पितृ नचाउँदै आएको बताउँछन्। ठाँटीडाँडामा पोखरी निर्माण भएपछि भने आफूहरूलाई पितृ नचाउने ठाउँको अभाव खड्किएको उनले बताए।

 

पितृ नचाउने भनेको माझी जातिको मृत्यु संस्कार हो । मृत व्यक्तिको सम्झनामा हरेक वर्ष नवमीको दिनदेखि टीकाको भोलिपल्टसम्म पितृ नचाइने गरेको छ । सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा दसैँ टीकामा हुने यो कार्य अरू जिल्लामा भने सोह्रश्राद्धको समयमा गरिन्छ ।

 

पहिलो दिन पितृ बोलाउने, दोस्रो दिन नचाउने र तेस्रो दिन खोलामा बगाइने प्रचलन छ । यी तीन दिनलाई ‘पितृ नचाउने’ भनिन्छ । पितृ नाच्ने ठाउँ नै मासिएपछि माझी समुदायमाथि गाउँपालिकाले नै सांस्कृतिक थिचोमिचो गरेको महशुस उनीहरूले गरिरहेका छन्।

Facebook Comments Box