१४ बैशाख २०८१, शुक्रबार

सर्वसाधारणका लागि बन्द , तस्करका लागि खुल्ला कपिलवस्तु


कपिलवस्तु , कार्तिक १४ ।
कोभिड संक्रमण रोकथाम गर्न सरकारले चैत देखि नै अन्तराष्ट्रिय सीमाना सिल गरेको छ । अत्यावश्यक खाद्यान्न, इन्धन र तोकिएको स्थान बाहेक व्यक्तिहरु समेत आउजाउ गर्न नमिल्ने सीमा क्षेत्रहरुबाट यतिखेर धमाधम तस्करी बढेको छ । कपिलवस्तु सदरमुकाम संग जोडिएको मर्यादपुर सीमा क्षेत्रबाट धमाधम तस्करी भइरहेको छ । शशस्त्र प्रहरी सीमा सुरक्षा बल तथा नेपाल प्रहरी सीमा प्रहरी चौकी संगको सेटिङ्गमा तस्करीबाट सामान आयात मात्र होइन निर्यात समेत भइरहेको छ ।

प्रहरी श्रोतका अनुसार अहिले सबै भन्दा बढि कपडा, सुर्ती र माछा विभिन्न बाटो हुदै नेपाल भित्रिरहेको छ भने नेपालबाट मटर, छुवारा, इलाईचीहरु भारत निकासी भइरहेका छन् । श्रोतका अनुसार विगत ४ महिना देखि रोकिएको मटर तस्करी सुरक्षाकर्मीहरुकै सेटिङ्गमा चल्न थालेको छ । मर्यादपुरको ननवा नाका, मर्यादपुर नाका, बन्धा नाका, र कचरीहवा बाट मटर भारत निकासी हुदै आएको छ । स्थानीय व्यापारी बजरंगी मिश्रा, मुबारक मुसलमान, कादिर मुसलमानले पिअप भ्यानमै हालेर सीमापार गराउने गरेको स्थानीयबासीहरु बताउछन् । यिनिहरु बाहेक मोटरसाइकल र साइकलमा मटर ओर्साने पोके तस्करहरु समेत रातभरी सोहि नाकाहरु बाट क्यारिङ्ग गरि पारी पुरयाउने गर्दछन् । यस संगै मरिच, छोकरा र इलाइची समेत भारतमा तस्करी हुदै आएको छ । भारतीय एसएसबीले केहि दिन अघि मात्रै १ ट्याक्टर मटर नियन्त्रणमा लिएको थियो ।

यसै गरि चाडबाडको मुखमा कपडाको अत्याधिक माग बढेपछि भारतबाट अवैध बाटो अत्याधिक मात्रमा कपडा आयात भएको छ । सदरमुकाम तौलिहवा, बाणगंगा मात्र नभई अर्घाखाँची तथा बुटवल सम्म तस्करीको कपडा पुगेको छ । तिहार सम्म कपडाको माग अत्याधिक भएको र तस्करी अझ बढ्ने श्रोतको दाबी छ । विशेष गरि तौलिहवाका व्यापारीहरुले तस्करी गरि कपडा मगाउने र यहाँबाट आफ्नो बिल काटेर बुटवल र बाहिर पठाउने गरेका छन् । मर्यादपुरकै स्थानीय सुनिल जैसवाल, महेन्द्र पाल तौलिहवाकै संदिप जैसवाल, लक्ष्मण गुप्ताले भारतबाट कपडा ल्याएर तौलिहवाका ठूला कपडा व्यापारीलाई दिने गरेका छन् । विगत २ महिनाको दौरानमा १ पिस कपडा पनि पक्राउ नपर्नु , मर्यादपुर भन्सारमा एउटा कपडाको समेत भन्सार नहुनु र जिल्लामा भारतीय कपडा प्रशस्त पाउनु र अन्य जिल्ला पठाउनुले पनि यसको तस्करीमा सरोकारवालाकै हात भएको प्रष्ट हुन्छ ।

तस्करीकै भाषमा लाइन (सेटिङ्ग) मा सीमा प्रहरी चौकी मर्यादपुर प्रहरी नायब निरिक्षक जेद बहादुर काउचा र डंगरी बर्डर आउट पोष्टका शस्त्र प्रहरी निरिक्षक शंकर सिंहले महिनावारी लिएर आखाँ चिम्लिएर बसेको पाइन्छ । खाद्यान्न र कपडा तस्करहरुले मासिक लाइन बुझाउने गर्दछन् भने साइकल र मोटरसाइकलका पोके तस्करहरुले हप्ता (साप्ताहिक खर्च) बुझाउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालय देखि १२ किमीको दुरीमा रहेको सीमा क्षेत्रबाट तस्करी मौलाउदा समेत कुनै चासो नदिइनु आफैमा आश्चर्यको विषय बनेको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट