भृकुटीमाविमा विद्यार्थीद्वारा शिक्षकको निगरानी !
अंकुश श्री /कपिलवस्तु , भाद्र २ । जिल्लाको बुद्धभुमी नगरपालिका वडा नं. ४ स्थित भृकुटी माध्यामिक विद्यालय बुड्ढीका विद्यार्थीहरुले शिक्षकको निगरानी गर्न थालेका छन् ।
विद्यालयमा शिक्षकको नियमित उपस्थिति र कक्षा समय बढाउन विद्यार्थीले शिक्षकको निगरानी गर्न थालेका हुन् । विद्यार्थीहरुले शिक्षक कक्षामा प्रवेश गर्ने र बाहिर निस्कने समयको ‘रेकर्ड’ राख्न थालेका छन् ।
विद्यालय प्रशासनले शिक्षक पूरा समय कक्षामा बस्नै पर्ने गरी यो नियम लागू गरेर ‘रेकर्ड’ राख्ने जिम्मा विद्यार्थीलाई दिएको प्रधानाध्यापक वेदप्रकाश भुसालले बताउनुभयो । विद्यालयले कक्षा लिडर (मनिटर)ले यो रेकर्ड राख्नुपर्ने जिम्मा दिनुका साथै मासिक विवरण राख्न रेकार्ड फाइल दिएको छ । विद्यालयमा गत शैक्षिक सत्रबाट यो अभ्यास थालिएको हो ।
कक्षा १० का मनिटर अशिका थारुले कक्षाकोठामा शिक्षक प्रवेश गरेपछि शिक्षक आएको गएको रेकर्ड राख्ने र महिना पुगेपछि कक्षा अध्यापक मार्फत प्रधानाध्यापकलाई बुझाउने गरेको बताए । ‘शुरुमा अप्ठ्यारो लागेको थियो, विद्यालयले हामीलाई लगबुक दिएको छ’’, उहाँले भन्नुभयो, ‘‘हरेक शिक्षक आएको र गएको समय लेख्छौँ।’
शिक्षक कक्षाकोठामा प्रवेश गरेको र बाहिरिएको समय लेख्ने गरिएको कक्षा ११ कृषि संकाय तर्फकी मनिटर बनिता पराजुलीले बताइन । ‘हामीले महिनाभरिको रेकर्ड राख्छौँ र विद्यालयमा बुझाउने गछौँ’, उनले भनिन ‘शिक्षकको रेकर्ड राख्न थालेपछि विद्यार्थी पनि अनुशासित भएका छन् । हामी पनि कक्षा अवधिभर बाहिर निस्कदैनौँ।’
प्रधानाध्यापक –वेदप्रकाश भुसाल
भृकुटी माध्यामिक विद्यालय बुड्ढीका प्रधानाध्यापक वेदप्रकाश भुसाल शिक्षकको कक्षाकोठामा नियमित उपस्थिति बढाउन र सिकाई व्यवस्थापनलाई सुधार गर्न विद्यार्थीले शिक्षकको रेकर्ड राख्न थालिएको जानकारी दिए । यसले शैक्षिक सुधारमा सघाउँछ । सबै शिक्षकलाई जिम्मेवार बनाउँछ भनेपछि शिक्षक साथीहरु तयार हुनुभयो।’विद्यार्थीले शिक्षक कक्षा प्रवेश गरेको र निस्किएको रेकर्ड राख्न थालेपछि शिक्षकले जिम्मेवारी र अनुशासन पालना गरेको उनको भनाइ छ। ‘इमानदार शिक्षकलाई यस कार्यले खुशी दिएको छ । कक्षाकोठामा नियमित शिक्षण सिकाइ क्रियाकलाप पूरा गर्न शिक्षकले लापरवाही गर्न पाइदैन भन्ने हो’, प्रअ भुसालले भने, ‘४५ मिनेट पूरा विद्यार्थीलाई दिनुपर्छ भन्ने हो । समय ख्याल नगरे पठनपाठन र नियमित क्रियाकलापमा असर पार्छ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनराज बेल्बासे भन्छन – सुरुमा शिक्षकको मूल्याकंन विद्यार्थीले गर्ने भनी शिक्षकहरुलार्ई नरमाइलो लागेको हुन सक्छ तर सकारात्मक पक्ष, समय पालना नियमित हुन्छ भनी लागू गर्दा, अहिले शैक्षिक सुधार हुँदै गएकाे छ । भृकुटी माविलाई आफ्नाे कार्यकालभित्रै फरक शैक्षिक संस्थाकाे रुपमा बिकास गर्ने लक्ष्य रहेकाे बताउनुभयाे । केही दिन पहिला विद्यालयले बिद्यार्थी , अभिभावकका लागि मेडिटेसन कक्षा पनि संचालन गरेकाे अध्यक्ष बेलबासेले जानकारी दिनुभएकाे थियाे ।

