एक वर्षभित्र सडकमा बालबालिका रहने स्थिति अन्त्य गर्छौँ : प्रधानमन्त्री ओली
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्ने बताएका छन्।
मंगलवार काठमाडौँमा आयोजित अन्तरराष्ट्रिय युवा दिवसको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले बालबालिका सडकमा हुन नहुने बताए।
उनले बालबालिकाहरु अभिभावकविहीन भएर सडकमा अलपत्र पर्ने अवस्थाको अन्त्य गर्ने बताए। उनले बालबालिका सडकमा अलपत्र भएको हेर्न नसक्ने बताए।
उनले उनीहरुको रेखदेख, सन्तुलित आहार दिने, स्याहारसम्भार गर्ने, उन्नति प्रगतिका लागि उचित शिक्षा, स्वास्थ्यको प्रवन्ध गर्ने र अन्य अवसर पनि उपलब्ध गराउने कर्तव्य राज्यको भएको बताए।
‘बालबालिका सडकमा हुनु हुँदैन‚ खाते भएर रहनु हुँदैन भनेर पहिला पनि मैले क्याम्पेन चलाएको थिएँ‚’ उनले भने, ‘सरकारमा आउने बित्तिकै मैले पहिलो दिन नै क्याबिनेटबाट घोषणा गरेको छु कि एक वर्षभित्र हामी सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्नेछौँ। सरकारले त्यसको जिम्मा लिनुपर्छ।’
प्रधानमन्त्री ओलीले वर्षमा ५ लाख रोजगारी आवश्यक पर्ने बताए। युवाहरुमा उद्यमशीलता विकास गर्नुपर्ने जरुरी रहेको र सरकारले गहन रुपमा सोचिरहेको उनले बताए।
