शास्त्रीय सङ्गीतकार कामतको निधनपछि चुलियो विवाद

सेयर गर्नुहोस

काठमाडौँ – मिर्गौला सम्बन्धी रोगका कारण शास्त्रीय सङ्गीतका साधक गुरुदेव कामतको निधन भएसँगै एउटा विवाद सतहमा आएको छ । काठमाडौँमा सङ्गीत पाठशाला चलाउँदै आएका गुरुदेव बिरामी भएपछि उनको उपचार काठमाडौँमै चलिरहेको थियो । तर आर्थिक अभावका कारण उपचारमा समस्या हुन थालेपछि उनी काठमाडौँबाट आफ्नो घर फर्केका थिए । उनी घर फर्किनुअघि सामाजिक सञ्जालमा यी सबै कुरा उल्लेख गरेका थिए ।

 

कामतको निधन भएपछि अहिले उनको एउटा भिडियो भाइरल भएको छ । त्यो हो मधेस प्रज्ञा प्रतिष्ठानले कामतलाई दिनुपर्ने रकम नदिएकोबारे । निधन हुनुभन्दा केही समय पहिले कामतको एउटा भिडियो सार्वजनिक भएको थियो जसमा मधेस प्रज्ञा प्रतिष्ठानले दिनुपर्ने एक लाख रुपैयाँ हालसम्म नदिएको उल्लेख थियो ।

 

एकातर्फ आर्थिक अभावका कारण उनको उपचारमा समस्या भइरहेको थियो भने अर्कोतर्फ काम गराइसकेको रकम प्रतिष्ठानले नदिँदा उनले आफ्नो पीडा भिडियोमार्फत पोखेका थिए । सायद त्यो एक लाख रुपैयाँ दिएको भए कुनै राम्रो ठाउँमा उपचार हुन्थ्यो र कामतलाई बचाउन सकिन्थ्यो भनेर यतिबेला मधेस प्रज्ञा प्रतिष्ठानले उनलाई रकम नदिएकोमा आलोचना भइरहेको छ ।

 

यहाँसम्म कि प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीको राजीनामा माग भइरहेको छ । मधेस प्रज्ञा प्रतिष्ठानले गत माघ २६ गते महेन्द्र नारायण निधि सांस्कृतिक केन्द्रको सभाहलमा कामतको एकल गायन कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा गायक कामतले चार घण्टासम्म आफ्नो प्रस्तुति दिएका थिए । सो प्रस्तुतिका लागि प्रतिष्ठानले एक लाख रुपैयाँ पारिश्रमिक दिने भनेको कामतले भिडियोमार्फत जानकारी गराएका छन् ।

 

एकल गायन सम्पन्न भएपछि कामतले आफ्नो पारिश्रमिक बारेमा प्रतिष्ठानका अध्यक्ष कापडीसँग कुरा गर्दा उनले अहिले रकम निकासा नभएको जानकारी दिएको बताइएको छ । तर कामतको निधन भइसक्दा पनि प्रतिष्ठानले सो रकम दिएको छैन । उल्टै विज्ञप्ति जारी गरेर अध्यक्ष कापडीले त्यसरी एक लाख रुपैयाँ दिने वा कुनै पारिश्रमिक दिने कुरा नभएको दाबी गरेका छन् । बरु उनी बिरामी भएको थाहा पाएपछि थप सहयोगका लागि फाइल अगाडि बढाइएको कापडीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

Facebook Comments Box