सिमलताल घटनाबारे चिनियाँ राजदूतको अभिव्यक्ति आपत्तिजनक : अब्दुल खान

सेयर गर्नुहोस

काठमाडौँ : जनमत पार्टीका सांसद अब्दुल खानले चिनियाँ राजदूत छन् सोङले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणाको निन्दा गरेका छन्।

उनले चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरे नेपाली जनताले सहन नसक्ने चेतावनीसमेत दिएका छन्।

मंगलवार प्रतिनिधिसभा बैठकको विशेष समयमा खानले यस्तो धारणा व्यक्त गरेका हुन्। उनले असार २८ गते त्रिशुली नदीमा खसेका दुईवटा बस र हराइरहेका यात्रुको खोजी गर्न भारतले टोली पठाउँदा चीनले आपत्ति जनाएकोमा जनमत पार्टीको ध्यानाकर्षण भएको बताए।

‘एउटा मित्र देशले विज्ञ टोलीसहित बस खोज्न सहयोग गर्दा अर्को मित्र राष्ट्र चीनको राजदूतले बसमा सवार मधेशी, मुस्लिम, थारू, दलित समुदायका साथै सम्पूर्ण नेपाली र नेपालीको दुःखमा नुनचुक छर्ने निन्दनीय अभिव्यक्ति एक्समा लेख्नुभएको छ‚’ उनले भने, ‘यसमा सरकार गम्भीर हुनुपर्छ। हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप कुनै पनि देशको राजदूतले गर्न सक्दैन। नेपाली जनताले सहन सक्दैन।’

उनले चीनका राजदूतले सामाजिक सञ्जाल एक्समा समाचार शेयर गर्दै हराएको बस खोज्नभन्दा पहिला चुम्बक खोज भन्ने अभिव्यक्ति दिनु आपत्तिजनक रहेको बताए।

Facebook Comments Box