के गल्ती गरेको छु र मलाई प्रदेश प्रमुखबाट हटाइयो ? : अमिक शेरचन
दाङ : लुम्बिनी प्रदेशका निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले आफू लगायतका प्रदेश प्रमुखलाई हटाउँदा सरकारले आफूहरूको अपमान गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
शेरचनले आफूलाई प्रदेश प्रमुखबाट हटाउनुको कारण थाहा नभएको बताए। उनले आफूले गरेको गल्ती गरेको थाहा पाउनुपर्ने माग गरे।
‘प्रदेश प्रमुखलाई हटाउँदा शुरुदेखि अहिलेसम्म नियम पालना भएको म देख्दिनँ। छिटो हटाउनुपर्छ भनेर हटायो। प्रदेश प्रमुखलाई हटाउनु पर्दा अवस्था यस्तो आयो, मार्गप्रशस्त गर्नुहोला भनेको भए मर्यादा रहन्थ्यो’‚ उनले भने।
मंगलवार कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले बिनाकारण आफूलाई प्रदेश प्रमुखबाट हटाइएको दावी गरे। उनले प्रदेश प्रमुखलाई हटाउँदा मार्गप्रशस्त गर्न आग्रह गर्नुपर्ने भए पनि त्यो पालना नभएको भन्दै असन्तुष्टि पोखे। आक्रोश व्यक्त गर्दै उनले भने‚ ‘केन्द्रमा सरकार परिवर्तन भयो‚ के कारणले प्रदेश प्रमुखलाई हटाइयो? के गल्ती गरेको छु? अमर्यादित ढंगले हटाइएको छ।’
उनले नयाँ सत्ता गठबन्धनसँगै लुम्बिनी प्रदेश प्रमुख नेपाली कांग्रेसको भागमा परेको आफूले सुनेको भन्दै उनले आफूलाई कुन विधि मिचेका कारण हटाएको भन्ने नबुझेको गुनासो गरे।
‘प्रदेश प्रमुखलाई हटाउनु पर्दा अवस्था यस्तो आयो, मार्गप्रशस्त गर्नुहोला भनेको भए मर्यादाको ठाउँ रहन्थ्यो। त्यो पालना भएको शुरुदेखि अहिलेसम्म म देख्दिनँ। छिटो हटाउनुपर्छ भनेर हटायो’‚ उनले भने, ‘सरकार केन्द्रमा परिवर्तन भयो तर सरकार-सरकारबीच अन्तरविरोध भएर विभिन्न बाधा आएर बनेको परिस्थिति होइन, यहाँको प्रमुखलाई हटाउनुको कारण के‚ के गल्ती गरेको छु? अमर्यादित ढंगले हटाइएको छ।’
उनले केन्द्रमा सरकार परिवर्तन हुँदा प्रदेश सरकारले क्षति बेहोर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए।
