२६ भाद्र २०८१, बुधबार

सौर्य जहाज दुर्घटना : पोस्टमार्टम शुरु, एउटा शवको पोस्टमार्टम सक्न ४ घण्टा लाग्ने

काठमाडौँ : सौर्य एयरलाइन्सको हवाईजहाज दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम शुरु भएको छ। धेरैजसो शव जलेकाले एउटा शवको पोस्टमार्टम सक्न कम्तीमा ४ घण्टा लाग्ने त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

बुधवार विहान काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुमध्ये चारजनाको पोस्टमार्टम शुरु गरिएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ।

त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा. गोपालप्रसाद चौधरीले सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम साँझ ५ बजे शुरु गरिएको बताए।

उनले आज पोस्टमार्टस शुरु गरेका चारजनाको आज नै पोस्टमार्टम सक्ने गरी परीक्षण शुरु भएको बताए। उनले जतिसक्दो छिटो पोस्टमार्टम सक्नेगरी निरन्तरता दिइने बताए।

उनले अस्पतालले सकेसम्म ७२ घण्टाभित्र आफन्तलाई शव बुझाउने तयारी रहेको बताए। उनले मृतकहरुको प्रायः सबै शरीर जलेकाले पोस्टमार्टममा समय लाग्ने भन्दै परिवारले दिएको विवरणअनुसार सकेसम्म चाँडै सक्ने बताए।

उनले अस्पतालमा जनशक्ति थोरै भएकाले पोस्टमार्टमको लागि पाटन अस्पताल, भक्तपुर र पोखराबाट समेत डाक्टरहरुलाई बोलाएको बताए।

उनले एउटा शवको पोस्टमार्टम सक्न कम्तीमा ४ घण्टा लाग्ने बताए। उनले शव धेरै जलेकाले सकेसम्म चाँडो सक्नेगरी काम अघि बढाएको बताए।

उनले शवहरू आफन्तलाई बुझाउँदा ‘कस्मेटिक सर्जरी’ गरिने बताए। उनले पोस्टमार्टमका लागि शिक्षण अस्पतालका २५ जना चिकित्सकहरू खटिएको बताए।

उनले शुरुमा शव पहिचानका लागि फिंगर प्रिन्ट, डेन्टल (दाँतको भाग) र शरीरमा स्थायी रुपमा बनेका संकेतहरू (खत, ट्याटुलगायत) हेरिने बताए।

उनले त्यस्ता चिह्नहरुबाट कुनै पहिचान हुन नसकेको खण्डमा मात्रै डीएनएको प्रक्रियामा जाने उल्लेख गरे। उनले कुनै शव पहिचान गर्न नसकेर डीएनएको प्रक्रियामा जान परेको खण्डमा कम्तीमा दुई हप्ता लाग्ने बताए।

अस्पताल परिसरमा मृतकका आफन्तहरु भावविह्वल अवस्थामा शव कुरेर बसिरहेका छन्। विमान दुर्घटना हुँदा विमानमा सवार १९ मध्ये १८ जनाको निधन भएको छ भने एकजना घाइते भएका छन्।

घाइते भएका पाइलट मनीषरत्न शाक्यको अहिले काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको छ।

धेरै कमेन्ट गरिएका