नवनियुक्त राजदूत सुफयानविरुद्ध गृह र परराष्ट्र मन्त्रालयमा उजुरी, भारतमा गैरकानुनी गतिविधिमा संलग्नताकाे आराेप
काठमाडौं । सरकारले गत ७ असारमा साउदी अरबका लागि नेपाली राजदूत नियुक्ति गर्न सिफारिस गरेका म्यानपावर व्यवसायी अबु सुफ यान खान मुसलमानको नियुक्तिलाई लिएर संघीय संसद्देखि सडकसम्म सर्वत्र विरोध भइरहेका बेला अहिले गृह र परराष्ट्र मन्त्रालयदेखि धेरै ठाउँमा उजुरी परेको छ ।
– भारतमा गैर कानूनी गतिविधिमा संलग्नता भएको
भारतको सेवा सुविधा लिएका विवादास्पद व्यक्ति खानलाई राजदूत नियुक्ति गर्ने सरकारको निर्णयविरुद्ध सबैतिरबाट चर्को विरोध भइरहेका बेला अहिले राष्ट्रवादी नेपालीका तर्फबाट गृह मन्त्रालय र परराष्ट्र मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्रलगायत धेरै ठाउँमा उनको नियुक्तिको निर्णय फिर्ताको माग गर्दै उजुरी परेको हो ।
राष्ट्रवादी नेपालीका तर्फबाट गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रलगायतका निकायमा गत १४ असारमै उजुरी दर्ता गरिएको छ । अहिले सो उजुरी’bout गम्भीर छलफल भइरहेको बुझिएको छ ।
राष्ट्रवादी नेपालीहरूका तर्फबाट गृह र परराष्ट्र मन्त्रालयलगायत विभिन्न निकायमा दर्ता गरिएको सो उजुरीमा गत ७ असारमा मन्त्रिपरिषद्को सिफारिसबमोजिम साउदी अरबका लागि नेपाली राजदूत नियुक्ति भएका अबु सुफ यानको निर्णय विवादास्पद भएकाले सरकारले यस्तो निर्णय तत्काल फिर्ता गर्नुपर्ने माग गरिएको छ । उनीहरूले यस्तो निर्णयप्रति गम्भीर ध्यानाकर्षण र असहमति रहेको बताएका छन् ।
अबु सुफ यान राजदूतको पदमा नियुक्त हुनका लागि योग्य नरहेको जानकारी गराउँदै उनीहरूले यस्ता विवादास्पद व्यक्ति नेपालभित्र र बाहिर रही विभिन्न अवैधानिक गतिविधिमा संलग्न भएको समेत दाबी गरेका छन् । कुनै कूटनीतिक नियुक्तिका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायभित्र केही दाग नलागेको निर्दोष, उच्च नैतिक चरित्र र इमानदारिता भएका व्यक्ति मात्र योग्य हुने भन्दै उनीहरूले यस्ता आपराधिक अभिलेखको उपस्थितिले राजदूत हुन आवश्यक योग्यतालाई कमजोर बनाउने भएकाले त्यस्ता व्यक्तिको नियुक्तिबाट मुलुकको गरिमा, मान, प्रतिष्ठा नै जोखिममा पर्ने बताएका छन् ।
सो उजुरीमा उनीहरूले अबु सुफ यानको शैक्षिक प्रमाणपत्र किर्ते रहेको, उनीसँग नेपाली र भारतीय दोहोरो नागरिकता रहेको र भारतमा गैरकानुनी गतिविधिमा संलग्नता भएको तथा भारतको क्राइम ब्रान्चमा उनीविरुद्ध विभिन्न आपराधिक मुद्दासमेत चलिरहेको, विभिन्न मुलुकमा हुण्डी कारोबार गरी फरारसमेत रहेकाले राजदूतजस्तो प्रतिष्ठित कूटनीतिक पदमा यस्ता व्यक्तिलाई पठाउनु मुलुकको बदनाम हुने प्रस्ट रहेको दाबी गरेका छन् ।
यसैगरी, सो उजुरीमा कूटनीतिक जिम्मेवारीको संवेदनशील प्रकृति र राजदूतहरूका लागि राखिएका कानुनी मापदण्डलाई ध्यानमा राख्दै, यससँग सम्बन्धित नियम र प्रोटोकलहरूको पालना सुनिश्चित गर्नु मुलुकका लागि महत्वपूर्ण भएकाले यस्ता प्रकारका गतिविधि भएका व्यक्तिलाई राजदूतमा सिफारिस गरिनु गलत भएको उल्लेख छ ।
सो उजुरीमा उनीहरूले अब प्रधानमन्त्रीले नै विशेष चासो राखेर यस्ता व्यक्तिलाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने प्रक्रिया रद्द गरी उपयुक्त योग्य व्यक्तिलाई पुनः छनोट गरी राजदूत नियुक्त गर्न आग्रह गरेका छन् । उजुरीकर्ताहरूले खान भारतको नागरिक भएको खुल्ने निर्वाचन कार्यालयसँग सम्बन्धित कागजात, जग्गाधनी दर्ता प्रमाणपुर्जालगायतका स्पष्ट प्रमाण खुल्ने कागजातका प्रतिलिपिहरूसमेत संलग्न गराएर सरकारको ध्यानाकर्षण गराएको बताएका छन् ।
सोही राजदूत नियुक्तिको विषयलाई लिएर अहिले सबैले विभिन्न प्रश्न उठाएर सरकारको आलोचना गरिरहेका छन् । यस्ता विवादास्पद व्यक्तिलाई सोझै उनको स्वार्थ जोडिनेगरी बनाइएको राजदूत नियुक्तिमा गम्भीर कमजोरी रहेको भन्दै विभिन्न मन्त्रालयमा धमाधम उजुरी परेको र चौतर्फी विरोधको आवाज आउन थालेपछि यसले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारलाई नै असर परेको सम्बन्धित सरोकारवालाले बताएका छन् ।
उनीहरूले भारतीय नागरिकले प्रयोग गर्ने अनेक सुविधा लिएका निकै विवादित व्यक्ति अबु सुफ यानलाई साउदी अरबको राजदूत नियुक्ति गर्दा स्वार्थ बाझिने थुप्रै समस्या भेटिएको दाबी गरेका छन् ।
उनीहरूका अनुसार सरकारले साउदी अरबका लागि नेपाली राजदूत बनाउन सिफारिस गरिएका अबु सुफ यान विवादास्पद म्यानपावर एजेन्सी इशान ओभरसिजका सञ्चालक हुन् । उनको म्यानपावर कम्पनी काठमाडौंको सामाखुशी टाउन प्लानिङमा छ ।
विशेषगरी साउदी अरब र मध्यपूर्वका मुलुकमा नेपाली कामदारलाई वैदेशिक रोजगारीमा लैजाने सो ओभरसिजका सञ्चालक अबु सुफ यानलाई विगतका धेरैवटा लफडामा राजधानी रियादस्थित नेपाली दूतावासमा बोलाएर सचेतसमेत गराइएको थियो ।
यस्ता विवादास्पद व्यवसायीलाई अहिले साउदी अरबको सोही दूतावासको जिम्मा दिएर पठाउन लागिएको छ । यिनै व्यक्ति दूतावासको उपसचिव र अधिकृतसरहका कर्मचारीलाई थर्काएर दूतावासको गोप्य रिपोर्ट (कार्य सम्पादन मूल्यांकन) भर्ने हैसियतमा पुग्ने राजदूत भएपछि अब सो दूतावासमा रहेका कर्मचारी र नेपाली श्रमिकको हालत कस्तो होला भन्ने गम्भीर प्रश्न उब्जिएको उनीहरूको भनाइ छ ।
खान भारतको नागरिक भएको खुल्ने निर्वाचन कार्यालयसंग सम्बन्धित कागजात, जग्गाधनी दर्ता प्रमाणपुर्जा लगायतका स्पष्ट्र प्रमाण खुल्ने कागजहरूको प्रतिलिपी समेत संलग्न गराई उजुरीकर्ताहरूले सरकारको ध्यानाकर्षण गराएका छन
अबु सुफ यानको सिफारिसप्रति केही म्यानपावर एजेन्सीका सञ्चालकले समेत स्वार्थ बाझिनेगरी सरकारले गरेको यो निर्णय तत्काल फिर्ता गर्न माग गरेका छन् । यस्ता व्यक्तिलाई राजदूत बनाएर पठाएपछि वैदेशिक रोजगारमा सिस्टम भत्काउने र गलत मार्केटिङ गर्ने समूहको नेतृत्व उता बसेर यिनैका मान्छे जुबेर खानले अनेक हर्कत गर्नसक्ने उनीहरूको चिन्ता छ ।
अहिले सरकारबाट राजदूतमा सिफारिस भएका अबु सुफ यान र साउदीका जुबेर एउटै समूहका हुन् । उनै जुबेरले यसअघि साउदीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख (डीसीएम) दिलीप पौडेललाई अनेक लाञ्छना लगाउँदै संसद्को सार्वजनिक लेखा समितिमा समेत उभ्याएका थिए ।
जुबेर राजदूत सिफारिस भएका अबु सुफ यानका नाताले भान्जा पर्छन् । अबु सुफ यान राजदूत नियुक्तिमा परेसँगै अहिले इशान ओभरसिजको अध्यक्षमा थिरमणि पौडेललाई राखिएको छ । अबु सुफ यान पौडेलका पार्टनर हुन् । गत ७ असारमा राजदूत सिफारिस हुनुअगावै अबु सुफ यानको नाम ओभरसिजको वेबसाइटबाट हटाइसकिएको छ । यसबाट पनि यो नियुक्तिको खेल पुरानै रहेको स्पष्ट हुने सम्बन्धित सरोकारवालाको दाबी छ ।
नेपाल र साउदी अरेबिया दुवै ठाउँमा म्यानपावर कम्पनी सञ्चालन गर्दैै आएका व्यक्तिलाई पैसाको आडमा राजदूत नियुक्त गर्न लागिएको परराष्ट्र मन्त्रालयभित्रकै कर्मचारीको दाबी छ । ‘हाम्रा कर्मचारीले अब कुन हैसियतमा काम गर्ने ? दलालसँग रियादमा रहेका हाम्रा कर्मचारी सधैं जुध्दै आएका छन्, अब कुन हैसियतनुसार काम गर्ने उनीहरूले ? यसले उनीहरूको जागीरप्रति संकट उत्पन्न भएको छ,’ मन्त्रालयका एक कर्मचारीले भने ।
सम्बन्धित सरोकारवालाका अनुसार साउदीको राजदूत सिफारिस भएका अबु सुफ यानको इशान म्यानपावरको लाइसेन्स एकपटक निलम्बन गरिएको थियो । पहिले साउदी अरेबिया र गल्फ कन्ट्रीहरूमा काम गर्दागर्दै उनले ओभरसिज खोलेका थिए ।
भारततिर पढेका अबु सुफ यान कपिलवस्तुका स्थानीय हुन् । कतिपयले उनका परिवारका सदस्य अझै भारततिरै बस्ने गरेको बताएका छन् । उनको नयाँ दिल्लीमा समेत घर रहेको सरोकारवालाको दाबी छ ।
यसअघि गत ११ असारमा पनि नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले म्यानपावर व्यावसायीलाई साउदी अरबको राजदूत नियुक्तिका लागि सिफारिस गरिएको भन्दै सरकारलाई प्रश्न गरेका थिए । प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले सरकारले स्वार्थ बाझिनेगरी म्यानपावर व्यावसायी अबु सुफ यानलाई साउदी अरबको राजदूतमा किन सिफारिस गरेको भन्दै विरोध गरेका थिए ।(राजधानी दैनिकबाट)