बाजुराका लागि छुट्याइएको नुन कैलाली र कञ्चनपुरमा तस्करी!

सेयर गर्नुहोस

धनगढी : बाजुरावासीका लागि छुट्याइएको कोटाको १० प्रतिशत नुन कैलाली र कञ्चनपुरमा तस्करी हुने गरेको पाइएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराका प्रमुख टेकबहादुर बोहराले नुन तस्करी हुने कुरा घुमाउरो तरिकाले स्वीकार गरे। ‘विगतमा तराईका जिल्लामा बाजुराको नुन जाने गरेको साँचो हो’, उनले भने, ‘तर अहिले जिल्लाबाहिर नदिनका लागि अनुगमन गर्ने गरेका छौँ।’

बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, साल्ट ट्रेडिङको बिक्री केन्द्रबाट घरका लागि भनेर लग्ने, त्यसपछि तराईका जिल्लामा पठाउने गरेको थाहा पाएपछि अहिले कडाइ गरेको जानकारी पनि उनले बताए। साल्ट ट्रेडिङका प्रदेश कार्यालय, धनगढीका सहायक प्रबन्धक तेजबहादुर कुँवरले भने नुन तस्करीबारे थाहा नपाएको बताए।

‘बाजुराबाट धनगढी फर्किंदा कुनै सर्वसाधारण वा कर्मचारीले त्यसरी नुन ल्याएको हुन सक्छ तर तस्करी नै हुन्छ भन्ने कुरा होइन’, उनले भने,‘नेपाल–भारत सरकारको सहयोगमा साल्ट ट्रेडिङमार्फत ढुवानी अनुदानमा बाजुरामा आयोडिनयुक्त भानु नुन प्रतिकिलो ९ रुपैयाँमा बिक्री हुने गरेको छ।’

कैलाली र कञ्चनपुरमा सोही गुणस्तरको आयोनुन २० रुपैयाँ पर्ने भएकाले भानु नुन तराईका जिल्लामा ल्याउने गरेको बताइन्छ। दोहोरो बसाइ भएकाले बाजुराबाट तराईका कैलाली, कञ्चनपुर जिल्लामा भानु नुन लैजाने गरिएको जिल्लावासी बताउँछन्।

बाजुरामा अहिले आयोडिनयुक्त भानु नुनको चरम अभाव देखिन थालेको छ। डिपोबाट नुन किनेर पसलबाट बिक्रीगर्ने गरेको पाइएको छ । नुनको अभाव भएपछि अहिले साताको एक पटक मात्रै नुन बिक्री वितरण गर्ने गरिएको छ एक जनालाई पाँच केजीका दरले साताको एकपटक बिक्री गर्ने गरेको हुँदा नुन किन्नेको भिड लाग्ने गरेको नुन डिपो कार्यालयले जनाएको छ।

प्रहरीको सुरक्षासहित नुन बिक्री वितरण गर्ने गरेको साल्ट ट्रेडिङका जिल्ला प्रमुख बोहराले जानकारी दिए।

Facebook Comments Box