अमेरिकासँग हतियारसम्बन्धी विवाद छिट्टै सुल्झाउँछु : नेतन्याहु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा युद्धका कारण अमेरिकासँग भएको हतियारसम्बन्धी विवाद छिट्टै सुल्झाउने बताएका छन्। इजरायली रक्षामन्त्री योआभ ग्यालेन्ट गाजा युद्धबारे वार्ताका लागि वासिङ्टन उडेका बेला नेतन्याहूको पछिल्लो टिप्पणी आएको हो।
नेतन्याहूले यही साताको शुरुमा एक भिडियो वक्तव्य जारी गरी ‘इजरायललाई हातहतियार र गोलाबारुद रोकेको’ आरोप अमेरिकामाथि लगाएका थिए। अमेरिकी अधिकारीले नेतन्याहूको भनाइबारे आफूहरूलाई जानकारी नभएको बताएका छन्।
‘अमेरिकाबाट इजरायलमा आउने हतियारको आपूर्तिमा करिब चार महिना अघिदेखि नाटकीय गिरावट आएको थियो । हामीले सबै प्रकारका स्पष्टीकरण पायौँ, तर आधारभूत अवस्था परिवर्तन भएन’,नेता नेतन्याहूले मन्त्रिपरिषद् बैठकमा भने।
गाजामा हमासका लडाकुसँग लडिरहेको र लेबनानको उत्तरी सीमामा लेबनानी हिजबुल्लाहसँग सशस्त्र लडाइँ जारी रहेको समयमा आफ्नो अस्तित्वका लागि युद्ध लड्न अमेरिकी गोलाबारुदको आवश्यकता रहेको बिहीबार इजरायली प्रधानमन्त्रीले बताएका थिए।
वासिङ्टन इजरायलको मुख्य सैन्य समर्थक भए पनि ह्वाइट हाउसले इजरायलले आठ महिनाभन्दा बढी समयदेखि हमास लडाकुहरूसँग लडिरहेको गाजामा नागरिकको बढ्दो मृत्युप्रति निराशा व्यक्त गरेको छ।
