१५ बैशाख २०८१, शनिबार

परराष्ट्र मन्त्री चीनमा हुँदा नेपालमा के गर्दैछ एआईआईबीको टोली ?

काठमाडौँ । परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ अहिले चीनको औपचारिक भ्रमणमा छन् । नौ दिनका लागि तय गरिएको भ्रमणका क्रममा नेपालले यसअघि नै आवद्ध हुन सहमति गरिसकेको बीआरआई परियोजनाबारे छलफल हुने कार्यक्रम रहेको बताइएको छ ।

यद्यपि कुनै परियोजनामा सहमति हुन्छ वा हुँदैन भन्नेबारे अहिलेसम्म टुंगो लागिसकेको छैन । परराष्ट्रमन्त्री चीन भ्रमणमा रहेकै समयमा चीनको सक्रियतामा सञ्चालनमा आएको एसियन इन्फास्ट्रक्चर इन्भेष्टमेन्ट बैंकको प्रतिनिधिमण्डल भने नेपालको भ्रमणमा छ ।

एआईआईबी सञ्चालक समितिका सदस्य आरएमपी रथनायकेको नेतृत्वमा नेपाल भ्रमणमा आएको टोलीले अहिले उच्चस्तरीय भेटघाट गरिरहेको छ ।

सोमबार टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्यो । लगत्तै उर्जा मन्त्री शक्ति बस्नेतदेखि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगसमेत भेट गरेको छ ।

सो भेटका क्रममा नेपाली पक्षले नेपालको पूर्वाधार विकासमा सघाउन एआईआईबीका प्रतिनिधिमण्डलसँग आग्रह गरेका छन् । बैठकमा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालले ऊर्जा क्षेत्रको विकासका लागि बैंकका तर्फबाट सस्तो ब्याजदरमा सहुलितपूर्ण ऋण उपलब्ध गराइनु पर्ने बताएका थिए ।

सो क्रममा प्रतिनिधिमण्डले नेपालको उर्जा तथा पूर्वाधार क्षेत्रका लागि आवश्यक पर्ने लगानी गर्न बैंक इच्छुक रहेको बताएको थियो । सो क्रममा टोलीले हाल एआईआईबीको लगानीमा निर्माणाधीन आयोजनाहरुको प्रगति, वातावरणीय तथा सामाजिक सुरक्षणका विषयहरु, ऊर्जा क्षेत्रको पुनःसंरचना, विद्युत निर्यातका लागि बजार सुनिश्चितालगायतका विषयमा जिज्ञासा राखेको जनाइएको छ ।
यद्यपि यो भ्रमण कुनै परियोजनामा लगानी सम्झौता गर्ने हिसाबले भने नभएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता धनीराम शर्माले यो भ्रमणमा कुनै त्यस्तो सम्झौता गर्ने कार्ययोजना नरहेको उल्लेख गरे ।

‘उहाँहरु एआईआईबीको सहायतामा सञ्चालन भएका आयोजनाको अवलोकन गर्न आउनुभएको हो । यही बेलामा कट्सीका लागि उच्चस्तरीय भेटघाट भएका हुन्,’ प्रवक्ता शर्माले भने, ‘यो भेटघाटले नेपालमा लगानी गर्न विश्वासको वातावरण निर्माण गर्न सक्छ । तर अहिले नै कुनै परियोजनामा हस्ताक्षर गर्ने कार्यक्रम छैन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट