१५ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री दाहाल परिवारवादी राजनिती तर्फ लागेकै हुन ?

काठमाडौं- नारायण दाहाललाई माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षको प्रत्यासी बनाउँदा उनीमाथि नातावादको आरोप लाग्यो । प्रतिस्पर्धी पार्टी मात्र होइन, पार्टीभित्रकै असन्तुष्टले पनि प्रहार गरे । प्रधानमन्त्री पुष्पकमल दाहालमाथि पार्टीमा परिवारवाद हावी भएको भन्दै चौतर्फी आलोचना भयो ।

माओवादीका थुप्रै नेता यस रोगबाट प्रताडित छन् । प्रतिवादमा उनीहरु न रुन सक्छन, न आरोप धुन नै । माओवादी केन्द्रका युवा नेता माधव सापकोटाको राजनीतिक जीवन पनि यही आक्षेपको परिवेशमा घुमेको छ । ज्यान हत्केलामा राखेर परिवार नै युद्धमा संघर्ष गरेको विषय ओझेलमा पर्नु तर प्राप्त राजनीतिक अवसरलाई प्रोपोगण्डा बनाइँदा आफूहरूको तेजोबध हुने गरेको उनी बताउँछन् ।

सापकोटा जनताको मतबाट सांसद बने तर पूर्वसभामुख अग्नि सापकोटासँग नाम जोडेर ब्याज खाएको विषय हावी भयो । पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा उनका साइँला काका हुन् भने कान्छा काका नगरप्रमुख छन् ।

उनका बुबा भने सरकारी जागिरे थिए । परिवारबाट २ दाइ, १ बहिनी शहीद र गाउँका २ सय हाराहारीमा होमिएको बताउँदै उनी आफ्नो गाउँबाट २१ जना शहीद भएको जानकारी दिन्छन् ।
शरीरको दाहिने भागको कोखामा गोली बोकेर हिँडिरहेका सांसद सापकोटासँग जीवनमरणका कहालीलाग्दा अनुभव छन् । ०७९ को निर्वाचनमा सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर पहिलो पटक संसदीय यात्रा तय गरेका सापकोटाले १३ वर्षको उमेर विद्यालयबाट नै राजनीति सुरु गरेका थिए ।

स्कुल पढ्दा एसएलसी पास गर्नु जीवनकै ठूलो अभिष्ट बोकेका उनी युद्धका कारण सहभागी हुन पाएनन् । २०५५ सालमा एसएलसी दिने तयारीमा रहँदा प्रहरी पक्राउका लागि आएपछि भूमिगत भएका थिए । त्यसको एक दशकपछि एसएलसी पास गरेका उनले अहिले राजनीतिशास्त्रमा स्नातकोत्तर तहको पढाइ पूरा गरेर प्रज्ञा र चेतनामा अब्बल प्रमाणित गरिसकेका छन् ।

०६० सालको वैशाखमा सिरहाको बन्दीपुरमा गोली लागेर गम्भीर घाइते सापकोटालाई गाढामा हालेर उपचारका लागि ल्याइँदै थियो । गाढा पानीमा फसेपछि भोलिपल्ट बिहान १० बजे मात्र होस खुलेको थियो ।

त्यो भिडन्तमा आफ्ना गाउँका सिनियर नेताको निधन भएको तर आफू भाग्यले बाँचेको बताउँदै उनी भन्छन्, ‘त्यसपछि घाइतेहरू जंगलमा बस्यौँ । अरु अर्को भिडन्तमा जानु भयो ।’ ५ दिन बन्दीपुरको जंगलमा शरीरभरि गोली लागेको मान्छे बिना उपचार बस्दा घाउ पाकेर शरीर नै गनाउने भएको सापकोटाको अनुभव छ । ‘म बाँच्दिन कि भन्ने लागेको थियो । यस्तो पीडा सहनुभन्दा त मरेको भए जाती हुन्थ्यो जस्तो लाग्थ्यो ।’

चौतारामा भएको हमलामा फेरि उनी गम्भीर घाइते भए । सापकोटाको बाँच्ने अवस्था नै थिएन । तर भगवान् भएर एक जना आफन्तले बहालवाला डिएसपी लिएर उनी घाइते भएको ठाउँमा पुगे । नेपाल प्रहरीको जवान बनाएर प्रहरीकै गाडीमा धुलिखेल अस्पताल ल्याइयो । त्यहाँ उपचार हुन नसकेपछि बी एन्डबी अस्पताल स्थानान्तरण गरियो । त्यो लडाइँमा उनको देब्रेपट्टि ढाड र दाहिने खुट्टामा गोली लगेको थियो ।

ती दिनको स्मरण गर्दै सापकोटा भन्छन– ‘महिना दिन जति नेपाल प्रहरीको सिपाहीको दर्जा लिएर उपचार नपाएको भए आज म यहाँ हुने थिइन । दुई ठूला काण्डले मलाई झन्डै लगेको थियो ।’

मुलुक शान्ति प्रक्रियामा अघि बढेपछि उनका काका अग्नि सापकोटा र अर्थमन्त्री वर्षमान पुन अस्पताल पुग्दा त्यहाँका चिकित्सकहरूले प्रश्न गर्दै भनेका थिए– ‘नेता भएर पुलिसलाई भेट्न किन आएको ?’ काकाले युद्धमा परेको आफ्नो भतिजो भन्दा उनीहरु जिल्ल परेका थिए ।

२०६९ सालमा देवकुमारी नेपाल ‘सन्ध्या’ संग बन्दुक साटेर विवाह गरेका उनका एक छोरा छन् । प्रस्तुत छ सांसद सापकोटासँग खबरहबले गरेको वार्तालापको सारसंक्षेप ।

जनयुद्ध लड्दै गर्दा यहाँसम्म आइपुगिएला भन्ने लागेको थियो ?

बाँचिएला भन्ने नै थिएन, संसद् र अन्य पदको त के कल्पना । तर नेपाली जनताको लागि लडिएको युद्ध भएकाले उहाँहरूको आदर्शवाद रहेछ भन्ने लाग्छ । राजनीतिक परिवारमा जन्मिएको भएर यतैतिर यात्रा मोडियो ।

अन्य पार्टीले युवालाई अगाडि बढाइरहेको बेला माओवादीले किन पुराना अनुहारलाई नै प्राथमिकता दिएको होला?

आम रूपमा नेपालको राजनीतिमा युवाको सक्रियता छ । यसमा आशावादी भएर सबै पार्टीले हेरिरहेका छन् । त्यस हिसाबले पनि हामीबाट अपेक्षा गर्नु स्वाभाविक हो । जुन प्रकारले सहानुभूति अपेक्षा व्यक्त भयो, त्यसलाई मैले सकारात्मक पूँजीको रूपमा लिएको छु ।

पार्टीको आन्तरिक र संसदीय दलको बैठकमा पुराना नेताले मात्र अवसर पाएको भनेर तपाईंले कार्यशैली फेर्न व्यापक आवाज उठाउनुभयो रे हो?

बाहिर आएका सबै सत्य नहुन पनि सक्छन् । मैले व्यक्ति किटेर केही नेता कमरेडहरूलाई त्यो प्रकारले भनेको छैन । तर संसदीय दलको बैठकमा विधि पद्धतिको बारेमा गम्भीर तरिकाले छलफल भएको हो। पार्टीको आन्तरिक जीवनप्रति केही छलफल गरेको हुँ । पार्टीमा कसरी जनआकर्षण वृद्धि गर्ने, सरकारलाई कसरी सफल बनाउने लगायतका विषयमा हिजो पनि म सक्रियतापूर्वक पार्टीमा भाग लिएर आएको थिएँ । आज पनि लिन्छु । नेता र व्यक्ति विषयमा मेरो कुनै धारणा छैन । तर विचारका पक्षमा म निरन्तर पार्टीमा सक्रिय रहने छु ।
यहाँले यसो भनिरहँदा माओवादीका नेताहरु त धमाधम पक्राउ परिरहेको दृश्य कस्तो लागेको छ ?
माओवादी एउटा आन्दोलन हो । यो एउटा विचार हो । आन्दोलन र विचार भएकाले यो एउटा ठूलो लिगेसी हो । त्यसैले मलाई के लाग्दैन भने एकाध घटनाक्रमले माओवादी आन्दोलन सकिने प्रश्न आउँदैन । माओवादी निश्चित विचार, दृष्टिकोण, सिद्धान्त, लक्ष्य र उद्देश्य लिएर अघि बढेको राजनीतिक शक्ति हो । आज सिंगो मुलुक माओवादीले कोरेको पदचापमा हिँडिरहेको छ । भएका कमीकमजोरी सच्याएर अघि बढ्ने हो भन्ने पार्टीको दृष्टिकोण हो ।

तर माओवादीकै नेता र उनका परिवार धमाधम विवाद र काण्डमा परिरहेका छन । यस्तो अवस्थामा तपाईँहरूका आदर्श जनताले पत्याउलान् ?

त्यो एउटा म्यासेज चाहिँ गयो । आयोगले पनि अनुसन्धान गर्नु भनेको हो । जतिसुकै शक्तिशाली नेता भए पनि अनुसन्धान गर्नुपर्छ भन्ने स्वयं प्रधानमन्त्री दाहालको भनाई हो । शुद्धिकरणका यस्ता अभियान चलाउँदा माओवादी पार्टीलाई नै न्याय हुने ठानेर प्रधानमन्त्रीले यस्तो निर्णय लिनु भयो ।

०६४ पछि पटक–पटक सरकारमा गए पनि माओवादी क्षयीकरणमा मै छ नि ख्याल गर्नु भएको छ ?

खाली सरकार र सत्ताको बहसलाई समाजले रुचिकर ठान्ने हुँदा यस विषयले प्राथमिकता पाएको हो । तर मेरा अग्रज नेताले पद हस्तान्तरण गरेकै कारण म सांसद भएर आएको छु । कमरेड अग्निप्रसाद सापकोटा सिनियर नेता पनि हुनुहुन्छ । उहाँ सरहका धेरैले नेताहरू श्रद्धालायक हुनुहुन्छ । पार्टीले मलाई र म जस्तालाई अवसर नदिएको भए पार्टीले मेरो क्षमता पनि जान्दैन थियो । मलाई पनि चिन्दैनथ्यो ।

माओवादी र अझ यसका सारथी प्रचण्डलाई सत्ताबिना टिक्न नसक्ने नेताका रुपमा दृष्टान्त दिने गरिएको बारे के भन्नुहुन्छ ?

निर्वाचन प्रणालीले एउटा मात्र शक्तिलाई बहुमत दिन सक्ने अवस्था छैन । त्यसो हुँदा एउटा मात्र दल हुँदा बहुमत छैन । नभएपछि एउटा मात्र दलले सरकार निर्माण गर्न सकेन । त्यो कारण कुनै न कुनै दलहरू मिलेर सरकार निर्माण गर्नु अनिवार्य छ । यी सबै गठबन्धनका कुरा नेपाली जनताले छर्लङ्गै देख्नुभएको छ । चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने र निर्वाचन पछिको नेतृत्व प्रचण्डले गर्ने भनिएको हो ।

त्यो सहमतिमा कांग्रेस इमानदार देखिएन र एमालेले प्रस्ताव गर्‍यो । त्यसलाई स्वीकार गरेर हामी अगाडि गयौँ । यो १२ १४ महिना हामीले कांग्रेससँग सहकार्य गर्‍यौँ । तर प्रधानमन्त्रीलाई काम गर्न गठबन्धन बाधक भयो । निरन्तर अवरोध भएपछि यो अहिले परसम्मको यात्रामा पुग्न नयाँ सहयात्रा सुरु गरेका छौँ ।

यो व्यवस्था रक्षाका लागि माओवादी र प्रचण्डले नै बढी भूमिका निर्वाह गर्नुपर्छ । यो व्यवस्था ल्याउन हामीले मेहनत गरेका छौँ । कानुन निर्माण गर्न अझै बाँकी रहेकाले त्यसको असली हकदार प्रचण्ड भएका कारण नेतृत्व अपरिहार्य भएको हो ।

वर्तमान सरकारले विश्वासको मत लिँदा गठबन्धनका सहयात्री जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले नै अर्ध समर्थन गरेकोलाई कसरी बुझ्ने ?

अघिल्लो पटकको विश्वासको मत संसदीय अभ्यासको सन्दर्भमा उचित थिएन । झट्ट हेर्दा मिले भनेजस्तो थियो । तर त्यहाँ कहीँ न कहीँ दाउपेचहरु थिए । यो पटक ठीक भएको छ । कि हामीले मुख्य पार्टी मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने गर्नुपर्‍यो । नत्र भने न्यूनतम पक्ष र प्रतिपक्षको कल्पना गर्ने स्थिति बन्नुपर्‍यो । कि निर्वाचन प्रणाली सुधार गर्नुपर्‍यो नत्र हुने यस्तै हो ।
यही कार्यशैलीले ०८४ मा माओवादीको हैसियत कस्तो होला ?
मेरो कुरा के छ भने ०८४ मा के हुन्छ भनेर टाउको गन्ने अवस्था छैन । ठूलै उथलपुथल भयो १५ महिनामा । ०८४ को निर्वाचन सम्म जाँदा राजनीति थिग्रिएर ठीक ठाउँमा आउँछ । मलाई लाग्छ मुद्दा, नारा कार्यक्रम लिएका शक्तिहरू ठीक ढंगले एकातिर जान्छन् । आफूलाई तयार पारेर राजनीतिलाई स्थायित्व दिन नेपाली जनताले आफ्नो अभिमत प्रकट गर्नुपर्छ ।

यहाँको पार्टीका अध्यक्षले उथलपुथल गर्छु भन्नुहुन्छ । तर अनुसन्धानको घेरामा भएका व्यक्तिलाई नै मन्त्री बनाउनुहुन्छ ?प्रमुख प्रतिपक्ष राजीनालाई बटमलाईन बनाइरहेको छ । यसले कस्तो परिणाम ल्याउला ?
यो कोर्स सुरु भएपछि निरन्तर कांग्रेसले गृहमन्त्रीको विषय उठाइरहेको छ । यस विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुभएको छ । कांग्रेसले चित्त बुझाएको छैन । बरु नयाँ नयाँ माग थपेको छ । छलफल गर्दै गएपछि सकारात्मक निष्कर्षमा पुगिएला ।

पाँच दलीय गठबन्धन सरकारको आयुबारे अहिले विभिन्न अडकल शुरु भइसकेको विषयमा के भन्नुहुन्छ ?
एमाले र कांग्रेसको घाँटी मिलेन भने के हुन्छ त ? म गम्भीरतापूर्वक के भन्छु भने यो अहिले हामीले बनाएको गठबन्धन होइन । यो सहकार्य हो । विचारमा ज्यादा सहकार्य भएका शक्ति एक ठाउँमा छन । एमाले, माओवादी र समाजवादीसँगै छन् । जसपाको पनि हामीसँग ज्यादा समानता छ । समाजवादसँग सहकार्य आवश्यक थियो र भएको छ ।

अन्तिममा वर्तमान गठबन्धनले प्रधानमन्त्री पनि आलोपालो गर्ने भनेर सहमति गरेको हो ?
विशेषतः तीन नेताहरू प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच केही सहकार्य गर्ने भन्ने छलफल भएको छ । आलो-पालो गर्ने नै भनेर सैद्धान्तिक सहमति भएको छ । माधव नेपालसँग पछिल्लो समय छलफल भएको हो । भागबन्डाको पूरा निर्णय भने भएको छैन । (खबरहबबाट)

धेरै कमेन्ट गरिएका

ताजा उपडेट