७ जेष्ठ २०८१, सोमबार

‘कम्युनिस्ट पार्टीभित्र नयाँ विलासी वर्गको उदय भयो’

शोषण र उत्पीडन अन्त्यका लागि भोट माग्नुपर्नेमा भोटको माध्यमबाट नै कम्युनिस्टहरूले शोषितहरूलाई थप शोषण गरिरहेका छन् । अहिले सबभन्दा धनी र विलासी वर्ग कोही छ भने त्यो सत्ताधारी कम्युनिस्ट पार्टीको जमात छ ।

नेपालमा कतिपय राजनीतिज्ञले कम्युनिस्ट पार्टीको नाममा दल दर्ता गरेर सञ्चालन गरिरहेका छन् । तर पार्टी दर्ता हुनु एउटा कुरा हो, नाम अनुसारको चरित्र छ कि छैन भन्नु अर्को कुरा हो । यसरी हेर्दा वास्तविकता अर्कै देखिन्छ ।

२००७ सालमा जुन आधार र उद्देश्यले जसका लागि कम्युनिस्टहरू जन्मिएका थिए आज हामी त्योभन्दा निकै फरक अवस्थामा आइसकेका छौं । दलले लिएको बाटो, नैतिकता आदिका आधारमा हेर्ने हो भने जे आधारमा जसका लागि कम्युनिस्टहरू जन्मिएका थिए, त्यो आज छैन । आज धेरै पार्टीका नाम कम्युनिस्ट छन् तर त्यस अनुसार नैतिकता, आदर्श, चरित्रसँग कुनै साइनो–सम्बन्ध रहेन ।

श्रमजीवी जनता, मजदुर, सर्वहारा वर्ग, कलकारखानामा काम गर्नेहरूको शोषक भएकाले उनीहरूको पनि भविष्य सुरक्षित हुनुपर्छ भनेर कम्युनिस्टहरूको जन्म भएको हो । संसारमा सर्वहारा मानवजातिको राज्यसत्ता हुनुपर्छ भनेर अघि बढ्नु कम्युनिस्टहरूको आदर्श हो ।

तर अहिले यो कोणबाट हेर्ने हो भने नाममा कम्युनिस्ट भए पनि व्यवहारमा कम्युनिस्ट पार्टी रहेनन् । माक्र्सवादी सिद्धान्तका आधारमा हेर्दा उनीहरू त्यो सिद्धान्तबाट धेरै टाढा पुगे ।

यद्यपि माक्र्सवाद कुनै अपरिवर्तनीय दृष्टिकोण होइन, परिवर्तनको दर्शन हो । चेतना, संस्कृति, संस्कार, मानिसको मनोवृत्ति, समाजको बनोट सबै परिवर्तनीय हुन्छन् भन्ने माक्र्सवादी दर्शनको मूल मान्यता हो । माक्र्सले आफ्नो जमानामा जुन समाज देखेका थिए, त्यसका विश्वव्यापी मान्यताहरूबाट समाज परिवर्तनको दिशा, सामाजिक मनोविज्ञान, विकासको अवस्थाले नयाँ परिस्थिति उत्पन्न हुन्छ भन्ने मार्गदर्शन गराएका हुन् ।

त्यस अनुसार आफूलाई ढाल्दै संसारमा शोषणविहीन र वर्गविहीन समाजका लागि काम गर्ने भन्ने यो सिद्धान्तको उद्देश्य हो । उनले त्यसका लागि आ–आफ्नो समयको परिस्थिति अनुसार परिवर्तन हुनुपर्छ भनेका थिए ।

तर, अहिले धेरैजसो कम्युनिस्टहरू सत्तामा पुगेका छन् । नेपालमा कम्युनिस्टहरूले दुई तिहाइ बहुमत पनि ल्याए, पटक–पटक प्रधानमन्त्री बने । तर अहिलेका कम्युनिस्ट पार्टीको नेतृत्वमा शोषित पीडित वर्गको उत्थान अनि शोषणविहीन समाजको निर्माणको हुटहुटी कतै देखिंदैन । बरु उनीहरूले कसरी शोषणको आधुनिकीकरण गर्ने भनेर काम गरे ।

अहिले त कम्युनिस्टहरूले समाजका जुन कमि–कमजोरी थिए त्यसैलाई उपयोग गरेर शोषणका नयाँ तौरतरिकाहरू पहिल्याए । अहिले सबभन्दा धनी र विलासी वर्ग कोही छ भने त्यो सत्ताधारी कम्युनिस्ट पार्टीको जमात छ ।

कम्युनिष्टहरूले शोषण र उत्पीडनको अन्त्यका लागि आफूलाई भोट माग्छन्, तर भोटको माध्यमबाट शोषितहरूलाई नै थप शोषण गरिरहेका छन् । उनीहरू नाममा कम्युनिस्ट जोड्न सक्छन्, त्यसको सदस्यता लिनेहरू आफूलाई कम्युनिस्ट भनेर चिनाउन सक्छन् । तर कम्युनिस्ट पार्टी र सिद्धान्तसँग साइनो नभएको नवसामन्त र शोषकहरूको जमात उत्पादन भइरहेको छ । त्यसैको वितृष्णा अहिले समाजमा देखिइरहेको छ ।

कम्युनिस्ट आदर्शका लागि काम गरिरहेकाहरूलाई अहिलेको बहाव र भ्रष्टाचारको दलदलबाट उठ्न अति नै कठिन भइरहेको छ । समाज भ्रष्टहरूको पकडमा गयो, नयाँ जन्मिएको जमात केही गर्नै नसक्ने भयो । जहाँबाट आफ्नो मात्रै हित हुन्छ उनीहरू त्यता जान थाले ।

कम्युनिस्ट भएर तर मार्न सकिन्छ भने कम्युनिस्ट हुने, कांग्रेसमा ठाउँ पाउँदा कांग्रेसमा लाग्ने र त्यहाँ पनि भएन भने अरू विकल्पमा जान थाले । त्यो पनि नसक्नेहरू आफैं कम्युनिस्ट नाम थपेर पार्टी पनि खोलिरहेका छन् । अहिलेको अवस्थामा किन कम्युनिस्ट पार्टी धेरै भए भन्ने प्रश्न छ ।

आदर्श दृष्टिकोण लिएर कम्युनिस्ट पार्टी खोलेकाहरू विद्यमान ठूला पार्टीका नेताबाट असन्तुष्ट भएर हिंडेकाहरू छन् । उनीहरू समाजको परिवर्तनको लागि काम गर्न खोजिरहेका छन् । तर, वैचारिक रूपमा तयार हुन सकेनन् । विद्रोहको भावना बोकेर मात्रै उनीहरू छुट्टिएर कम्युनिस्ट पार्टी गठन गरेर बसेका छन् ।

कतिपय कम्युनिस्ट हुँ भनेर आएका छन्, तर केही गर्न सकिरहेका छैनन् । विद्रोह गरे, तर आफैं बाटो ठम्याउन सक्ने, वैचारिक धरातल निर्माण गर्ने आधार उनीहरूको छैन । त्यही भएर कहिले कता, कहिले कता गइरहेका छन् ।

अहिले जति पनि कम्युनिस्ट पार्टी छन् ती निम्न पूँजीवादी मनोविज्ञानबाट गुज्रिरहेका छन् । म नै अगुवा बन्नुपर्छ, मलाई नै माक्र्स मान्नुपर्छ, मलाई नै माओ र लेनिन जस्तो मानिनुपर्छ भन्ने मनोवृत्तिले एउटै पार्टीमा रहेकाहरूका बीचमा द्वन्द्व सिर्जना भइरहेको छ ।

अहिले व्यक्तिगत टकरावका कारण एउटा कम्युनिस्टले भन्दा अर्कोले बढी क्रान्तिकारी नारा दिएर आउनुपर्ने परिस्थिति छ, समाजमा पनि त्यस्तैको बाहुल्य छ । म नेता भएँ भने अर्थोपार्जन गर्न सक्छु भन्ने नवधनाढ्य बन्ने आकांक्षाले पनि काम गरिरहेको देखिन्छ ।

उनीहरूले माक्र्सवादको आधारमा टेकेर नेपाल र विश्वको समाज अन्तरघुलन हुने वैचारिकीमा काम गर्न सकेनन् । विश्व समाज कहाँ पुगिसक्यो, मानव समाजको विकासले धेरै नै प्रगति गरिसक्यो । तर हाम्रोमा एउटा मात्रै कम्युनिस्ट पार्टी हुनुपर्छ भनेर समेत बहस गर्छन् ।

हाम्रो अहिलेको यो अडान बहुलवादभन्दा पछाडि जान्छु र म टिक्छु भन्ने कुरा जडसूत्रवादी धारणा हो । किनभने, राजनीति भनेको समाजका लागि गर्ने हो । समाजका विभिन्न आयाम छन् । जता पनि हेर्ने हो भने वैचारिक स्वतन्त्रताको पक्षमा धेरै वकालत भइरहेको छ । समाजमा विकसित, समतामूलक समाज निर्माण गर्नका लागि वैचारिक स्वतन्त्रता हो ।

यो समाज सधैं यस्तै रहँदैन । समाजमा २००७ सालदेखि यता परिवर्तनका उतारचढाव धेरै भए । नयाँ चिन्तन विकास भयो, युवाहरू आए । उनीहरूले बाटो पाएनन्, विद्रोह गरे । अहिले फेरि संक्रमण आइरहेको छ ।

यही संक्रमणबाट पुनः लोककल्याणकारी समाजको निर्माण गर्नुपर्छ भनेर कोही न कोही अगाडि आउनै पर्छ । त्यसले नयाँ अवस्थामा आजको विश्व परिस्थितिमा माक्र्सवादलाई व्यावहारिक रूप दिएर समाजवादको बाटो कसरी समात्ने भन्ने चिन्तन भएको वर्ग निस्किनुपर्छ ।

अहिले धन र बलको जगमा विकृति फैलिएकाले नेपाली समाज अघि बढ्न सकिरहेको छैन । आम मतदातामा कहाँबाट आफ्नो सन्तानको भविष्य सुरक्षित गर्न सकिन्छ भनेर भोट दिइरहेको अवस्था छ । श्रमजीवी जनता भ्रममा छन् ।

आफ्नो मुक्ति कसैको हातमा छैन, आफैंले गर्नुपर्छ भन्ने माक्र्सवादी चिन्तनबाट कैयौं कम्युनिस्ट भनिनेहरू विचलित भए । कोही चलाख भएर शोषणको बाटोबाट कम्युनिस्ट पार्टीमा लागेका छन् । त्यसबाट पनि केही हुन्न भन्ने मान्यता राख्नेहरू आफैं पार्टी खोल्न थाले । जसका कारण कम्युनिस्ट पार्टीको संख्या बढेको देखिन्छ ।

यस्तो अवस्था आउनु भनेको देश वैचारिक, सामाजिक, आर्थिक रूपमा संक्रमणकालमा छ भन्ने संकेत पनि हो । यसबाट नयाँ जागरण युगमा जान नयाँ बहसको जरूरी हुन्छ । केही बौद्धिक चिन्तकहरू अघि सरेको देख्न सकिन्छ । तर जोसँग अपेक्षा गर्यो उही खराब निस्केपछि निराशा पैदा भएको छ । तर यो परिस्थिति लामो समय रहँदैन, समाज अगाडि बढ्छ, यहीं रोकिंदैन ।

मैले धेरै पहिलेदेखि यसमा प्रयास गरेको हुँ । आ–आफ्नो पार्टीमा रहेर पनि त्यहाँभित्रका बौद्धिकहरूले कम्युनिस्ट आन्दोलनको शुद्धीकरणका लागि काम गर्न सकिन्छ भनेको थिएँ । राजनीतिक हिसाबले जुनसुकै पार्टी विभाजित भए पनि वैचारिक हिसाबले काम गर्ने हो भने हामी सबै भोलि एकठाउँमा हुन सक्छौं ।

(नेकपा संयुक्तका अध्यक्ष जोशीसँग अनलाइनखबरकर्मी दिपेश शाहीले गरेको कुराकानीमा आधारित संवादबाट साभार।)

धेरै कमेन्ट गरिएका