जुनकिरी घट्दा किसानलाई समस्या

सेयर गर्नुहोस

काठमाडौं : सुन्दा अचम्म लाग्छ तर साँझ–बिहान जुनकिरीको उज्यालो नहुँदा किसानलाई समस्या परेको छ।

पर्यावरणीय चक्र अनुसार जुनकिरीको संख्या घट्दै जाँदा उसको मुख्य आहारा मानिने शङ्खेकिराको संख्या बढेर खाद्यान्न तथा तरकारीबालीमा क्षति हुन थालेपछि किसान मर्कामा परेका हुन्।

बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ, शङ्खेकिरा बढ्दा त्यसले किसानले लगाएको तरकारी र अन्नबालीमा ठूलो नोक्सानी पुर्‍याउँदै आएको छ। विज्ञहरूका अनुसार जुनकिरीको लार्भा अवस्थामा त्यसले शङ्खेकिरालाई खाने गर्छ। लार्भा भनेको किराको असाध्यै बढी खाने अवस्था हो।

प्राकृतिक आवासको नाश, कीटनाशक विषादीको बढ्दो प्रयोग र कृत्रिम प्रकाशले जुनकिरीको संख्यालाई कम गराउँदै छ। प्राकृतिक आवास नासिनु जुनकिरीको संख्यामा कमी आउने प्रमुख कारण हो । सिमसार र ओसिलो तथा झारपात भएको क्षेत्र जुनकिरीको प्राकृतिक बासस्थान हो । बढ्दो शहरीकरण, साँझ बिहानको धेरै प्रकाश, वन तथा बुट्यान क्षेत्र विनाश जस्ता कारणले जुनकिरी लोप हुँदै जान थालेको हो।

कृषि अनुसन्धान परिषद् (नार्क) का वरिष्ठ कीट विशेषज्ञ आरपी मैनाली जुनकिरीको पिलपिले बत्तीको उज्यालो मात्र नभई त्योभन्दा धेरै कृषिमा उपयोगिता रहेको बताए । जुनकिरीको संख्या घटेसँगै किसानको बालीमा शङ्खेकिराको प्रकोप बढेको उनको दाबी छ।

जुनकिरीको बासस्थान चिसो र दलदले जमिन हो। बढ्दो शहरीकरण र जङ्गल नाश हुन थालेपछि जुनकिरीको बासस्थान खुम्चिन थालेको छ, जसका कारण जुनकिरीको संख्यामा क्रमिक रूपमा कमी आइरहेको छ ।

जुनकिरीले प्राकृतिक प्रकाश भएको समय र अरू रातको समयमा आफ्नो शरीरबाट आउने उज्यालोमा समागम गर्ने गरेका छन्। शरीरमा हुने रासायनिक प्रतिक्रियाले जुनकिरीले शरीरमा बत्ती बाल्छ। यसैको सहयोगले जुनकिरीले आफ्ना जोडीलाई आकर्षण गर्छन्। अत्यधिक कृत्रिम प्रकाशले असर पार्दा जुनकिरीले समागम गर्न सक्दैनन्। फलस्वरूप उनीहरूको संख्या कम भइरहेको छ।

जुनकिरी मात्रै होइन नेपालमा धेरै किराको संख्या घटिरहेको छ। किसानको सबैभन्दा नजिकको साथी माहुरीको संख्यामा कमी आउँदा त्यसले विभिन्न बालीको परागसेचनमा समस्या देखिएको छ । त्यसले कृषकको खाद्यान्न बाली मात्रै नभएर जंगलमा हुने कतिपय फल नै लोप हुने अवस्थामा पुगेको वैज्ञानिक मैनालीले जानकारी दिए।

Facebook Comments Box