पाँच वस्तुको निर्यात बढ्यो

सेयर गर्नुहोस

काठमाडौं : अधिकांश वस्तुको निर्यात घटिरहेका वेला पाँच वस्तुको निर्यात बढेको छ।

व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्यांक अनुसार चालु आर्थिक वर्षको छ महिनामा (साउन–पुस) मा नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा आइरन स्टिलका सामान, जुटका उत्पादन, जुस, अलैँची र प्लाइउड छन् ।

छ महिनामा यी पाँच वटा वस्तुको निर्यातबाट २३ अर्ब ७३ करोड १४ लाख रुपैयाँ प्राप्त भएको हो।

केन्द्रको तथ्यांकअनुसार छ महिनामा मुलुकबाट सबैभन्दा धेरै आइरन तथा स्टिलका उत्पादन निर्यात ८३ प्रतिशतले बढेर आठ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ भएको छ। गत वर्ष यो अवधिमा चार अर्ब ७३ करोड ९४ लाख रुपियाँको आइरन तथा स्टिलका सामान निर्यात भएको थियो ।

विदेशबाट ठूलो परिमाणमा काठ आयात भइरहेको बेला प्लाइउड १०२ प्रतिशतले बढेर तीन अर्ब ५३ करोड ३२ लाख रुपैयाँको निर्यात भएको छ ।

यस्तै छ महिनामा तीन अर्ब ९५ करोड रुपियाँको सिमेन्ट र क्लिंकर निर्यात भएको छ । सरकारले स्वदेशी वस्तु निर्यातलाई प्रोत्साहन गरेपछि भारतीय सीमावर्ती क्षेत्रमा सिमेन्ट–क्लिंकर निर्यात बढ्न थालेको हो। यस्तै जुस निर्यात ४५ प्रतिशतले बढेर तीन अर्ब ८० करोड ५७ लाख रुपैयाँको निर्यात भएको केन्द्रको तथ्यांक छ ।

यो अवधिमा तीन अर्ब ९० करोड ७६ लाख रुपियाँको अलैँची निर्यात भएको छ।

Facebook Comments Box