८६ वर्षीय नर्वेका राजाद्वारा राजगद्दी त्याग्न अस्वीकार

सेयर गर्नुहोस

डेनमार्ककी महारानी मार्गरेटले आश्चर्यजनकरूपमा पद छाड्ने निर्णय गरेपछि मङ्गलबार आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा शारीरिकरूपमा कमजोर नर्वेका राजा हेराल्डले पद छाड्ने कुनै योजना नभएको दोहोर्याएका छन्।

“मैले सधैँ भनेको कुरामा अडिग छु, मैले स्टोर्टिङ संसद्को सपथ लिएको छु र यो जीवनभरका लागि हो”, युरोपका सबैभन्दा वृद्ध राजा हेराल्डको भनाइ उद्धृत गर्दै नर्वेली मिडियाले भनेको छ। आफ्ना छोरा युवराज हाकनसँगै ओस्लोमा नर्वेली प्रेस सेन्टरको भ्रमणका क्रममा उनले उक्त टिप्पणी गरेका हुन् ।

राजगद्दीमा ३३ वर्षसम्म रहेका राजा फेब्रुअरी २१ मा ८७ वर्ष पुग्दै छन्। आफ्नो बढ्दो स्वास्थ्य समस्या तथा बढ्दो उमेरले टिप्पणीकारहरूलाई हेराल्डले आफ्नी ८३ वर्षीया टाढाकी बहिनी मार्गरेटको पाइला पछ्याउन सक्ने भन्ने सम्भावनाका बारेमा अनुमान लगाउन प्रेरित गरेको छ।

बारम्बार कहिल्यै पद नछाड्ने कुरामा जोड दिँदै आएकी मार्गरेटले नयाँ वर्षको पूर्वसन्ध्याको सम्बोधनमा आफ्नो सबैभन्दा ठूलो छोरा फ्रेडरिकको पक्षमा पद त्याग्ने घोषणा गरेर डेनिसलाई स्तब्ध बनाएकी थिइन्।

वैशाखीको सहारामा हिँडडुल गर्ने राजा हेराल्डको हालैका वर्षहरूमा मुटुको शल्यक्रिया गरिएको छ र श्वाससम्बन्धी समस्या तथा सङ्क्रमणका कारण उनलाई अस्पतालमा भर्ना गरिएको छ।

Facebook Comments Box