१५ बैशाख २०८१, शनिबार

जब ‘ट्‍वेल्थ फेल’मा शीर्ष पात्रले नेपालका आङरिता शेर्पा सम्झिन्छन्

काठमाडौं । दर्शक अभावमा केही दिनमै नेपालका हलबाट उत्रिएको भारतीय फिल्म ‘ट्‍वेल्थ फेल’को चर्चा यतिबेला भइरहेको छ । डेढ महिनाअघि बटरफ्लाइ मुभिजले यसलाई नेपालमा रिलिज गरेको थियो । दर्शकै नगएपछि फिल्मलाई हलबाट मात्र उतारिएन, वितरकले घाटासमेत व्यहोर्नुपर्‍यो ।

ओटीटीमा रिलिज भएपछि भने यो फिल्मको चर्चा नेपालमा आकाशिएको छ । सामाजिक सञ्जालका टाइमलाइनमा ‘टुवेल्थ फेल’को प्रशंसा भइरहेको छ । इन्टरनेट दर्शकले यसलाई ‘उत्प्रेरक’ भन्दै प्रशंसा वर्षाइरहेका छन् । आईएमडीबीसहितका प्लाटफर्मले उच्च रेटिङ दिएका छन् ।

यदि तपाईंले ‘ट्‍वेल्थ फेल’ हेर्नुभएको छ भने फिल्मको अन्त्यतिर अभिनेता विक्रान्त मेसीको अन्तर्वार्ताको एउटा प्लट छ । उक्त पात्रले यो अन्तर्वार्तालाई ‘अन्तिम प्रयत्न’ बताउँछ । उक्त दृश्यमा विक्रान्तले चर्चित नेपाली आरोहीको उदाहरण दिएका छन्, जसले तपाईंलाई थप मर्मस्पर्शी र उद्देलित तुल्याउन सक्छ ।

उक्त अन्तर्वार्तामा विक्रान्त भन्छन्, ‘सगरमाथा चढ्ने पहिलो मानिस एडमण्ड हिलारी थिए । सबैले उनको फोटो देखेका छन् । तर आङरिता पहिलो शेर्पा थिए जसले सगरमाथा बिना अक्सिजनको मद्दतमा चढेका थिए । मैले उनको फोटो देखेको छु सर । मेरो विचारमा बिना अक्सिजनको सपोर्टमा चढ्नु धेरै ठूलो कुरा हो । म पनि यहाँसम्म बिना अक्सिजनको मद्दतमा आइपुगेको छु । त्यो पनि नांगै पैतालामा ।’

उनको जवाफमा अन्तर्वार्ता लिइरहेका पात्र भन्छन्, ‘यदि सर एड्मण्ड हिलारीले बाटो देखाएका थिएनन् भने शेर्पा कहिल्यै पनि चुचुरोमा पुग्ने थिएनन् ।’ यी दुवै पात्रको अभिव्यक्तिमा गहिराइ र दार्शनिकता लुकेको महसुस दर्शकले गर्छन् ।
यो दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि चर्चित नेपाली आरोहीले पनि सकारात्मक भन्दै प्रशंसा गरिरहेका छन् ।

१० पटक बिना अक्सिजन सगरमाथा जितेका आङरिता शेर्पाको ७२ वर्षको उमेरमा सन् २०२० मा निधन भइसकेको छ । अन्तिम पटक चढेपछि उनले गिनिज विश्व कीर्तिमान पनि रचेका थिए ।

‘टुवेल्थ फेल’को कुरा गर्दा विधुविनोद चोपडा निर्देशित यो फिल्म अनुराग पाठकद्वारा लिखित सन् २०१९ को सोही नामको पुस्तकमा आधारित छ । यसको कथावस्तु मनोजकुमार शर्मा र श्रद्धा जोशी शर्माको वास्तविक जीवनमा आधारित छ ।

भारतीय बक्स अफिसमा भने यसले राम्रो कमाइ गरेको छ । शिक्षा र परीक्षा प्रणालीका चुनौतीको कथावस्तुमा बनेको फिल्मले विश्वभर ६६ करोड भारु कमाएको छ । यो फिल्म डिज्नी प्लस हटस्टारमा रिलिज भइसकेको छ । तर युट्युबलगायत प्लाटफर्ममा समेत यसको पाइरेसी संस्करण छ्याप्छ्याप्ती देखिएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट