निर्वाचनमय बन्दै २०२४ : भारतदेखी अमेरिकासम्म चुनाव सन् २०२४ विश्वभरका लागि चुनावी वर्ष बन्दैछ ।
सन् २०२४ विश्वभरका लागि चुनावी वर्ष बन्दैछ विश्वका ६४ मुलुकमा यस वर्ष निर्वाचन हुँदैछ । छिमेकी मुलुक भारतदेखि मित्रराष्ट्र अमेरिकासम्म युरोपेली युनियनदेखि युद्धग्रस्त युक्रेनसम्म यसवर्ष निर्वाचनमा होमिँदैछन् ।
विश्वका ४९ प्रतिशत जनसंख्याले यस वर्ष निर्वाचनलाई नजिकबाट हेर्नेछन् । यस वर्ष हुने निर्वाचनले उनीहरुको कम्तीमा चार वर्षसम्मको भविष्यलाइ निर्धारण गर्नेछ । सबैस्थानमा स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने सुनिश्चितता भने अवश्य छैन । उदाहरणका लागि बंगलादेशमा जनवरीमा हुने निर्वाचनबाट शेख हसिना पुन: सत्तामा आउने निश्चित छ । विभिन्न षड्यन्त्रमार्फत आफ्नो जित सुनिश्चित गर्न उनले प्रतिपक्षविहीन रुपमा निर्वाचन गराउन लागेको आरोप विपक्षीहरुले लगाइरहेका छन् । प्रतिपक्षी दलहरुले निरंकुशरुपमा हुन लागेको निर्वाचन बहिष्कार गर्ने बताएका छन् ।
यता, पाकिस्तानमा पनि इमरान खानलाई जेलमा राखेर निर्वाचन गराउने तयारी भइरहेको छ । यसपटक सेनाले नवाज सरिफलाई पुन सत्ताको बागडोर जिम्मा लगाउने संभावना छ । खानका समर्थकहरुलाई राज्य सत्ताले दमन गरिरहेको छ । पाकिस्तानमा फेब्रुअरीमा निर्वाचन हुनेछ । भारतमा पनि सन् २०२४ को अप्रिल वा मे महिनामा लोकसभाको निर्वाचन हुँदैछ । निरन्तर तेस्रो कार्यकाल पनि प्रधानमन्त्री हुँदै इतिहास रच्ने दाउमा बहालवाला प्रधानमन्त्री नरेन्द्र मोदी रहेका छन् ।
यस्तै, युद्धमा रहेको युक्रेनमा पनि चुनावी बहस चलिरहेको छ। चुनाव गराउनका निम्ति राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीलाई अमेरिकाको दबाब छ । सन् २०२४ मा राष्ट्रपतीय निर्वाचनमा होमिन लागेको अमेरिकाले नै युक्रेनमा चुनावको बहस गराएको हो । रिपब्लिकन पार्टीभित्रको सानो समूहमा यससम्बन्धी बहस झाँगिएको छ । चुनाव निगरानी सञ्जाल ओपोराकी अध्यक्ष ओलाह एभीजोयस्का भन्छिन्, ‘कट्टर दक्षिपन्थी रिपब्लिकनहरु युक्रेनलाई सैन्य सहायता रोक्नुपर्ने आफ्नो माग जायज ठहर्याउनका निम्ति चुनावको बहस गरिरहेछन् ।’
डोनाल्ड ट्रम्पको अलगवादी विचारले रिपब्लिकनमा प्रभाव जमाइरहँदा अमेरिकी घरेलु राजनीतिमा युक्रेन सहायताको मुद्दा राजनीतिक मतभेदमा फसिरहेको छ । एभीजोयस्का भन्छिन्, ‘धेरै रिपब्लिकनले युक्रेनलाई समर्थन गर्छन् तर युक्रेनमा चुनावको विषयलाई यिनीहरुले मुद्दा भने पक्कै बनाउनेछन् ।’
यसको सुरुवात उनीहरुले गरिसकेका छन् । अघिल्लो महिना रिपब्लिनबाट राष्ट्रपतिमा उम्मेदवारी दिने तयारी गरिरहेका विवेक रामास्वामीले भनेका छन्, ‘युक्रेन लोकतन्त्रको प्रतिमूर्ती होइन र अमेरिकाले थप सहायता नदिएसम्म चुनाव नगर्ने धम्की उसले दिइरहनेछ।’
रिपब्लिकनका सांसद लिन्ड्से ग्राहमले पनि अगस्तमा किभ भ्रमणका दौरान युक्रेनले सन् २०२४ मा चुनाव गर्नैपर्ने बताएका थिए । युक्रेनका राष्ट्रपति जेलेनेस्कीले अमेरिकामा उठिरहेको आवाजको तात्पर्य बुझेका छन् । आफ्नो प्रमुख सहयोगीले सहायता रोकेमा रुससँग प्रतिद्वन्द्विताका लागि कठिन हुनेमा उनी जानकार छन् । गत अगस्टमा टेलिभिजन अर्न्तवार्तामा उनले भनेका छन्, ‘अमेरिकाले युक्रेनलाई सहायता रोक्न सक्ने केही कारणहरु छन् । तीमध्ये युक्रेनमा चुनाव पनि एक हो । युक्रेनमा चुनावको माग गर्दै अमेरिकामा रिपब्लिकनले चर्काइरहेको आवाजबारे म जानकार छु।’
हालसम्म जेलेनेस्कीले चुनावलाई अस्वीकार गरेका छैनन् । चुनावका निम्ति सुरक्षा, कानुन र सहायता सबैको चुनौती रहेको उनी बताउँछन् । तथापि युद्धकै समयमा चुनाव भए दोस्रो कार्यकालमा उठ्न आफू तयार रहेको उनको भनाइ छ । हालैको अर्न्तवार्तामा उनले भनेका छन्, ‘एक वर्षभित्र वा त्यस अवधिको जुनसुकै समयमा पनि चुनाव गराउन म तयार छु ।’
युक्रेनमा हमला गरेको रुसले पनि निर्वाचन गराउदैछ । मार्चमा हुने निर्वाचनबाट त्यहाँ पनि भ्लादिमिर पुटिन फेरि अनुमोदन हुनेमा कुनै शंका छैन । तर उनलाई समर्थन गर्ने प्रतिशतबारे संभवत कसैलाई सुइको छैन । केही मुलुकमा बाहेक अन्यको निर्वाचन परिणाम उत्साहप्रद नै हुनेछ ।
जस्तो कि बेलयतामा यसपटक १४ वर्ष शासन गरेको कन्जरभेटिभलाई लेबरले उछिन्न सक्ने आँकलन भइरहेका छन् । नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनको परिणाम पनि निकै रोचक हुनेवाला छ । अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पको उदयको सम्भावनालाई द इकोनोमिष्टले लेखेको छ, ‘ पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सन् २०२४ को राष्ट्रपतीय निर्वाचननमा विजयी भए विश्वका लागि सबैभन्दा ठूलो खतरा हो ।’
