१५ बैशाख २०८१, शनिबार

शहरको भिडमा पनि ‘एक्ला’ विह्वल

काठमाडौँ ।

धर्मेन्द्र विह्वल नामसँग परिचित नहुने व्यक्ति सायदै होलान् । त्यसमा पनि साहित्यानुरागीको भिडमा । हुन सक्छ साहित्यमा रुची नहुनेहरूलाई यो नाम नौलो लाग्न सक्छ । तर, उनको परिचय वरिष्ठ पत्रकार धर्मेन्द्र झाका रूपमा दिने हो भनेचाहिँ नचिन्नेको संख्या सायदै होला ।

पत्रकारिताको माध्यमबाट ३ दशकभन्दा बढी समयदेखि देशलाई निरन्तर सूसुचित गर्दै आएका उनै धर्मेन्द्र झाले त्यति नै समय भयो– धर्मेन्द्र विह्वलका नामबाट साहित्य लेखनमा सक्रिय भएको ।

नेपालीसँगै मैथिली साहित्यको पुनरुत्थानमा लागिपरेका विह्वलले साहित्य यात्राको अर्को खुड्किलो पार गरेका छन् । अर्थात् मैथिली साहित्यको दस्तावेजमा अर्को एउटा कृति थपेका छन्– ‘शहरक भीडमे एसगर हम’ अर्थात् ‘शहरको भिडमा एक्लो म’ ।

मैथिली कविताको छैठौँ शृंखलाका रूपमा प्रकाशित यो कृति यसकारण पनि विशेष छ कि यसमा एकै शीर्षकमा ५१ वटा कविता अटाएका छन् । शहर शीर्षक दिइएका ५१ वटा कविता २०४७ सालदेखि २०६६ सालको बीचमा विभिन्न मितिमा लेखिएका छन् ।

यस कृतिमा कवि विह्वलले कवितामार्फत शहर सपना र शहरको वास्तविकता खोतल्ने प्रयास गरेका छन् । अधिकांश कवितामा उनले आफैँ भोगेका अनुभव समेटिएको विह्वल बताउँछन् । ‘मैले पत्रकार र साहित्यकार बन्ने हुटहुटीले शहर बसाइका बीचमा जे भोगेँ, जे देखेँ, त्यही नै कविताका रूपमा उतारेको हुँ,’ विह्वलले भने, ‘साहित्य कल्पनामात्रै होइन, यसमा कही न कहीँ वास्तविकताको अंश पनि हुन्छ, यसमा त्यही प्रयुक्त छ ।’

हालको मधेस प्रदेशमा जन्मे–हुर्केका विह्वलले करियरको सपना देख्दै देशका विभिन्न शहर चहार्दा देखेको शहरलाई यसरी उतारेका छन् कवितामार्फत्

भोर–साँझमे कोनो भेद नही
झुमि उठैए मदिरालय
भरल भीड अछि
एतह मलेछक
आऊ उठाबी एक प्याला
शहर खास ई मद्यपानक
मदिरा ताकए शब्द अनेक
सभकेओ आबए सभकेओ भागए
केओ नहि अपन एकर एक ।

अर्थात्

बिहान–साँझमा कुनै भेद छैन
झुम्छन् हाम्रा मदिरालय
सर्वत्र भिड छ
यहाँ दुष्टको
आऊ उठाउँ एक प्याला
शहर ठाउँ यो मद्यपानको
मदिराले खोज्छ शब्द अनेक
सबै आउँछन् सबै जान्छन्
कोही छैन यसको एक

यस कृतिको भूमिकामा नेपाल संगीत तथा प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद्का पूर्वसदस्य रमेश रञ्जनले लेखेका छन्, ‘विह्वलका प्रकाशित सबै कृतिका आधारमा उनी कविता र साहित्य लेखनका सबै विधामा उत्तिकै माहिर छन् भन्ने प्रमाणित गर्छ । विह्वलका रचनामा शब्दमात्रै छैनन, त्यहाँ भावना, अनुभव र संवेदना पनि उत्तिकै सान्दर्भिक छन् ।’

रमेश रञ्जनले भनेजस्ते विह्वलले साहित्य लेखनमा नौलो प्रयोग पनि गर्दै आएका छन् । यसअघि मैथिली साहित्यको पहिलो तांका संग्रह प्रकाशन गरेका विह्वलले ‘शहरक भीडमे एसगर हम’ मा पनि नयाँ प्रयोग गरेका छन् । यस कृतिमा मैथिल चित्रकार एससी सुमनको हस्तलिखित चित्र राखिएको छ, त्यो पनि हरेक कवितामा अलग–अलग । आवरणमा पनि उनै सुमनको कला उतारिएको छ । यसमा प्रयोग भएका हरेक चित्र र स्केचमा कुनै सम्पादन नगरिएको विह्वल बताउँछन् ।

मिथिला नट्यकला परिषद्ले प्रकाशन गरेको यस कृतिको मूल्य ३२० रुपैयाँ राखिएको छ भने भारु २०० मूल्य तोकिएको छ । विह्वलले भने, ‘लोप हुँदै गएको मैथिली साहित्यको जगेर्ना गर्नु र साहित्यकै माध्यमबाट समाजलाई एड्भोकेसी गर्नु मेरो मुख्य उद्देश्य हो ।’

निकट भविष्यमै मैथिली भाषामै अर्को कृति प्रकाशनको तयारीमा रहेको बताउने विह्वल बाँचुन्जेल पत्रकारिता र साहित्य लेखनमा सक्रिय रहने चाहना रहेको बताउँछन् । ‘साहित्य लेखन र पत्रकारिता मेरो जीवनका अभिन्न अंग बनिसके । अब यसबाट विश्राम लिने कल्पना पनि छैन,’ उनी भन्छन्, ‘यी क्षेत्रमा काम गर्दा म बेग्लै आनन्दको अनुभूति गर्छु ।’बिकासटाइम्सबाट

धेरै कमेन्ट गरिएका

ताजा उपडेट