१५ बैशाख २०८१, शनिबार

घाइते अरिजितले नेपालको राष्ट्रिय झन्डा ओढे, कुर्सीका दर्शकभन्दा उभिएकालाई सम्मान दिए

काठमाडौँ । भारतीय गायक अरिजित सिंह नेपालमा पहिलो पटक कन्सर्टका लागि आएका थिए। हायात होटलको खुल्ला स्थानमा आयोजित कन्सर्टमा सहभागी हुन आएका उनी स्वस्थ देखिएनन्। औपचारिक कार्यक्रम अगाडि स्टेजमा अभ्यास गर्दा उनी खोच्याउँदै हिँडेका थिए। तर तीन घण्टाको कार्यक्रम अवधिभर उनले कार्यक्रममा उपस्थित आफ्ना प्रशंसकहरूलाई आफ्नो खुट्टा ठीक नभएको कुनै सङ्केत दिएनन्।

आयोजकले भिआईपी,भिआईपी गर्दै टिकटको दर अनुसार चार तहको बस्ने स्थान तोकिएको थियो। सामान्यतर्फ ६ हजार ५ सय, फ्यानपिट नाम दिइएकोलाई ११ हजार र भिआईपी टिकटको दर १९ हजार तोकिएको थियो। त्यो भन्दा अगाडि भिभिआइपीका लागि अलग्गै कुर्सीहरू राखिएको थियो।

अरिजित बाठा रहेछन् उनले कुर्सीमा बसेर कन्सर्ट हेर्न आएका भिआईपी र भिआईपी दर्शकलाई त्यति वास्ता गरेनन्। उनी कन्सर्टको अधिकांश समय सामान्य टिकट काटेर उनलाई हेर्न र सुन्न आएका दर्शकहरू भएतिर समय दिए। रमाइलो पनि त्यतै गरेका थिए।

भिभिआइपीका लागि अगाडि सेतो कुर्सी राखिएको थियो। कार्यक्रम अवधिभर भीआइपीहरुमा अरिजित नजिकबाट हेर्ने मौका पनि कमै पाए। बरु सबैभन्दा पछाडि उभिएर सुन्न गएकाहरूले उनलाई नजिकबाट हेर्न पनि पाए, अटोग्राफ पनि पाए।

कार्यक्रम अवधिभरै उनी अटोग्राफ दिन व्यस्त थिए। उनको अटोग्राफकालागि टिसर्टदेखि सेन्डोसम्म फुकालेर दिइरहेका थिए। उनले पनि हाँसीहाँसी अटोग्राफ दिइरहेका थिए।

२० हजार हाराहारी दर्शक रहेको कार्यक्रममा कुनै अप्रिय घटना भएन। आयोजकले निजी सुरक्षा गार्ड राखेका थिए। सँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि बाक्लै थिए। तर पाँच बजे कार्यक्रम सुरु गर्ने भनिए ६ बजेसम्म पनि दर्शकहरू कार्यक्रमस्थलमा प्रवेश गर्न कुरिरहेका थिए। सडकमा दर्शकहरूको उस्तै बाक्लो उपस्थिति थियो।

आवासीय क्षेत्र नजिकै अनि सहजै कार्यक्रमस्थल हेर्न सकिने भएकाले वरिपरिका स्थानीयको छत बाल्कोनि समान बनेका थिए। अधिकांश छतहरू भरिएका थिए। कार्यक्रम आधाआधी भइसक्दा पनि सडकमा उनलाई सुन्न उभिने दर्शकहरू बढिरहेका थिए। हायातको पर्खालमै चढेर उनलाई हेर्न खोज्ने दर्शकहरू एकाएक पर्खाल नाघेर कार्यक्रमस्थलभित्रै पुगिसकेका थिए।

प्रहरीले सम्यमता अपनाउँदै उनीहरूमाथि बल प्रयोग गरेन। उनीहरूलाई मूल दर्शक भएको भन्दा बाहिर उभिएर केही समय कार्यक्रम हेर्न दियो अनि बिस्तारै घेरा हालेर उनीहरूलाई कार्यक्रमस्थलबाहिर ल्याएका थिए।

कार्यक्रममा अरिजित निकै हम्बल देखिएका थिए। दर्शकबाट आउने अनुरोध स्विकार्दै गीतहरू गाइरहेका थिए नै उनीहरूसँग अन्तरक्रिया समेत गरेका थिए।

उनी मञ्च वरपर हिँडिहिँडी गाइरहेका थिए। उभिएर उनलाई सुनिरहेका दर्शकहरूप्रति उनी बढी नै लोयल देखिएका थिए। उनी गीत गाउँदै दर्शक नजिक जाँदा अटोग्राफ माग्ने दर्शकलाई निराश नबनाई घुँडा टेकेर बसेरै अटोग्राफ दिइरहेका थिए।

एक दर्शकले उनलाई नेपालको राष्ट्रिय झण्डा दिए। उनले सम्मानका साथ लिएर ओढे। केही समय नेपाली राष्ट्रिय झण्डा ओढेर गीत गाए अनि केही समयपछि दर्शकलाई नै फिर्ता दिए।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट