२४ बैशाख २०८१, सोमबार

नेपाल-अंग्रेज युद्ध बिन्दु “स्युराज” 

अँकुश श्रीवास्तव
       ऐतिहासिक वीरभुमी “स्युराज” । तत्कालीन जिल्ला सदरमुकामकाे तप्पा “शिवराज खजहनी” कपिलवस्तु जिल्लाको बहादुरगंज गा.वि.स. हाल कृष्णनगर नगरपालिकाकाे वडा ८ र ९ मा अवस्थित थियाे । संघियता आएसंगै बहादुरगंज वरपर क्षेत्र जुन नेपाल-अंग्रेज युद्धकाे साक्षी हाे ऐतिहासिक “स्युराज”काे अस्तित्व कृष्णनगर नगरपालिकाकाे रुपमा हुन पुग्याे । वर्तमान अवस्थामा “स्युराज” शब्दलाई परिमार्जित गरि शिवराज नगरपालिका नामाकरण गरियाे भने बहादुरगंजलाई कृष्णनगर नगरपालिकाकाे दुई वडामा विभाजित गरि वास्तविक “स्युराज” क्षेत्रलाई समाप्त पारियाे  । बि.स. २०२८ नापीभन्दा पहिलासम्म कपिलवस्तु जिल्लाकाे वाणगंगा नदी वारि “तप्पे शिवराज” हालकाे बहादुरगंज नै सदरमुकाम रहेकाे जानकार बताउँछन् । बाणगंगा नदी पारि र काेठी नदी वारि “खजहनी ताैलिहवा” थियाे ।

   “अड्डा अदालत , माल, नापी लगायतका कार्यालय यस क्षेत्रबाट जानु नै हाम्राे लागि दुर्भाग्य थियाे तर पुर्व नेतृत्वकर्ताहरु उदासिन भएका कारण नै तात्कालिन ऐतिहासिक “स्युराज” आफ्नाे पहिचान जाेगाउन सकेन।” 
          – शिवप्रसाद जयसवाल (पुर्व गाबिस अध्यक्ष बहादुरगंज)
     तत्कालीन ‘स्युराज’ अपभ्रंश भएर बनेकाे “तप्पे शिवराज” मा त्यतिबेला अदालत,कारागार, अमिनी, नापी,भुमिसुधार, शिवराज अस्पताल, शिवराज हुलाक , मलेरिया अफिस र तिनका जग्गासमेत रहेकाे पुर्व गाबिस अध्यक्ष शिवप्रसाद जयसवालले बताउनुभयाे ।
      पुर्व अध्यक्ष जयसवाल ०४२ सालदेखि स्थानीय  राजनीतिमा सक्रिय हुनुहुन्छ । पन्चायती व्यवस्थामा उपप्रधान र ०४७ पछिकाे बहुदलमा गाबिस उपाध्यक्ष र अध्यक्षमा निर्वाचित हुनुभएकाे थियाे । उनी भन्छन – अड्डा अदालत , माल, नापी लगायतका कार्यालय यस क्षेत्रबाट जानु नै हाम्राे लागि दुर्भाग्य थियाे तर पुर्व नेतृत्वकर्ताहरु उदासिन भएका कारण नै तात्कालिन ऐतिहासिक “स्युराज” आफ्नाे पहिचान जाेगाउन सकेन ।
  त्यस्तै विभिन्न लाेकतान्त्रिक आन्दोलनमा सक्रिय राजनीति गर्दै आउनुभएका लुम्बिनी प्रदेश प्रमुख दाेस्राे जनसेवा पदकबाट सम्मानित रामवरन प्रसाद यादवले ‘स्युराज तप्पा’ भएका कारण नै अहिलेपनि केही ऐतिहासिक अवशेषहरु भेटिएका छन । आधुनिकतामा आधारित समाजिक बिकासक्रम बढ्दै गएपछि हाम्राे  इतिहासपछि पर्नु दुखद हाे तर नेपालका इतिहासकारहरु तत्कालीन ‘स्युराज’ लाई विशेष महत्व नदिनु झन दुर्भाग्यपुर्ण हाे ।
    आधुनिकतामा आधारित समाजिक बिकासक्रम बढ्दै गएपछि हाम्राे  इतिहासपछि पर्नु दुखद हाे तर नेपालका इतिहासकारहरु तत्कालीन ‘स्युराज’ लाई विशेष महत्व नदिनु झन दुर्भाग्यपुर्ण हाे ।
        रामवरन यादव (पुर्व गाबिस अध्यक्ष-अजिगरा)
     उनी बि.स २०२९ देखि प्रधान पन्च हुदै   २०४६ काे बहुदल आन्दोलनसम्म अजिगरा गाबिसकाे प्रधान पदकाे कार्यभार सम्हालेका थिए । त्यसपछि प्रजातान्त्रिक व्यवस्थामा समेत २०५४ देखि ०५८ मा गाबिस अध्यक्ष भइ अहिलेपनि राजनितिमा सक्रिय छन ।
                 ऐतिहासिक “स्युराज” पार्क
     विगतको समयमा बहादुरगंज एउटा महत्वपूर्ण प्रशासनिक क्षेत्रको रुपमा प्रयोग भएको थियो । कृष्णनगर नगरपालिका र शिवराज नगरपालिकाकाे चेपुवामा परि अस्तित्व बचाउन लागेकाे ऐतिहासिक “स्युराज” हाल बहादुरगंज बजारको करिब ५०० मिटर पश्चिममा प्रचीन श्री रामगोरखा माध्यमिक विद्यालयको उत्तर हुलाकी राजमार्ग पूर्व पश्चिम तेर्सिएर नेपाली सेनाले “स्युराज पार्क” निर्माण गरेकाे छ । नेपाल-अंग्रेज युद्धकाे बीजारोपण भएकाे बिन्दु नै “स्युराज” रहेकाे इतिहासका पानामा उल्लेख गरिए तापनि हालकाे बहादुरगंजलाई अस्तित्वमा राज्यपक्षबाट पनि कुनै पहल भएकाे देखिएन ।
नेपाली सेनाले करीब ३ कठ्ठा जमिनमा फैलिएको निर्माणाधिन “स्युराज” पार्कमा बिगतमा प्रयोग भएको ब्यारेकको भग्नावशेष (जगको लम्बाई ६३.८ फिट, चौडाई ३८.६ फिट) रहेको छ भने सो ब्यारेकको जगको मोटाई ४ फिट रहेकाे आफ्नाे बुकलेटमा उल्लेख गरेकाे छ ।  ब्यारेकको दक्षिणपूर्वी दिशामा करिब २१ फिट गहिरो कुवा(इनार) भेटिएको छ जसको नेपाली सेनाले मर्मत संभार गरेको छ । तत्कालिन समयमा रोपिएका वर र पिपलका रुखले “स्यूराज पार्क” लाई थप आकर्षक बनाएका छन । बाकी खाली रहेको स्थानमा तनहुँमा उत्पादन भएको कलात्मक ढुंगा तथा स्लेटहरुको प्रयोग गरी ४ फिट लम्बाई, ३ फिट चौडाई र ११ फिट उचाईको अहिले स्युराज स्मारक निर्माण भएको छ । पार्कलाई थप मनमोहक बनाउन पार्कको वरिपरि रोयल पाम जातका विरुवाहरु वृक्षारोपण गरिएको छ ।
         ” स्यूराज” नेपाल-अंग्रेज युद्ध बिन्दु
    छिमेकी देश भारतलाई उपनिवेश बनाएर इस्ट इन्डिया कम्पनी सरकार चलाइरहेको अंग्रेजले उत्तर नेपालमा पनि आँखा गाडिरहेको थियो। अंग्रेजी सेना जैविक,भाैगाेलिक विभिदताले परिपुर्ण नेपाल हुदै तिब्बतसम्म व्यापार गर्ने मनशाय राखेकाे थियाे तर नेपाल सरकारले विभिन्न कारण देखाउँदै विदेशी व्यापारीलाई प्रवेश गर्न नदिने भएपछि क्रसरोड पोजिसनले पनि उनीहरूलाई नेपालसँग युद्ध गर्न उत्प्रेरित गरेको थियो । चिसो देशका भएकाले उनीहरूलाई उष्णकटिबंधीय देश भारतमा आफ्नो स्टेशनबाट प्रशासन चलाउन गाह्रो थियो। अर्कोतिर बुटवल र स्युराजको विवाद नै नेपाल–अङ्ग्रेज युद्धको तत्कालिन कारण बनेकाे विभिन्न स्राेतहरुमा उल्लेख छ। अंग्रेजी सेना नेपालकाे समथर क्षेत्रलाई कब्जा गरि तिब्बतसंग व्यापार बढाउने मनसायले वेलावेला हमला गर्ने याेजना बनाउदै  गरेका थिए ।
   ई.सं. १७५० को दशकदेखि ब्रिटिस साम्राज्यले वर्तमान भारतलाई आफ्नो औपनिवेशिक अभियानमा गाभ्दै थियो । वि.सं. १८०० बाट नेपालमा तत्कालीन श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहले बाईसे-चौबिसे राज्यहरुमा विभाजित राज्यहरुको एकिकरण अभियान थालनी गरेका थिए सो एकिकरणको क्रममा  क्षेत्रमा अस्तित्वमा रहेको पाल्पा राज्य एउटा अत्यन्त शक्तिशाली राज्य थियो । पाल्पा राज्य नेपालमा गाभिएपछि पाल्पा राज्यको भोगचलनमा रहेको बुटवल तथा स्यूराज क्षेत्रका केहि मौजाहरुको सम्बन्धमा अंग्रेज र नेपाल बिच वि.सं. १८६८ को हिउंद देखि विवाद उब्जिएको थियो । उक्त विवादित मौजाहरुको बारेमा आवश्यक छलफल गर्न वि.स. १८७० मा अंग्रेजहरुले कम्पनी सरकारको तर्फबाट मेजर पि.ब्राड.शालाई खटाएका थिए भने नेपाल सरकारको तर्फबाट टक्सारी चन्द्रशेखर उपाध्याय थिए तर सो विवाद सम्बन्धि कुराको कुनै उच्चारण नै नगरी मेजर ब्राड.शा. ले नेपाली वार्ताकारहरुलाई त्यतिकै नेपाल फर्काइदिएका थिए ।
     त्यसै क्रममा वि.सं. १८७१/१८७२ मा नेपालको पश्चिम क्षेत्र कब्जा गर्न अंग्रेज फौज आएको थियो। सोही समयमा कम्पनी सरकारको नवनियुक्त अंग्रेज गभर्नर जनरल लई मोईराले नेपाल सरकारको नाममा एउटा विवादित जग्गा २५ दिन भित्र खाली गर्न भनी अत्यन्त कडिकडाउ पत्र पठाईदिए । विवादित जमिनहरु तोकिएको समय सिमा भित्रमा खालि नगराएमा जबरजस्ती गरेर भएपनि उक्त जमिन माथि आफ्नो नियन्त्रण स्थापित गराउने भन्ने कुरा पनि गभर्नर जनरलको तर्फबाट कम्पनी सरकारका गोरखपुर क्षेत्रका प्रमुख प्रशासकको नाममा निर्देशन जारी भएको थियो । कम्पनी सरकारका गभर्नर जनरलको तर्फबाट प्राप्त भएको उक्त पत्र नेपाली भारदारहरुका निमित्त एक प्रकारको लागि हांकको रुपमा उपस्थित हुन आइपुगेको थियो । यतिबेला राजा गीर्वाणयुद्ध विक्रम शाह १७ वर्षका नवयुवक भएकोले त्यसवेला नेपाल अधिराज्यमा एक मात्र हर्ताकर्ता मुख्तियार जनरल भीमसेन थापाले कम्पनी सरकारका सैनिकहरुसंग लडाईंका मोर्चाहरुमा एकपटक सशक्त रुपमा मुठभेड नै गर्ने निर्णय गरे ।
     मुख्तियार जनरल भीमसेन थापाले पाल्पा क्षेत्रका संरक्षक भएर रहेका आफ्नै पिता जनरल अमरसिंह थापाका नाममा कम्पनी सरकारका अंग्रेजी सैनिकहरुले त्यस क्षेत्रमा आक्रमण गर्न आएमा उनीहरुलाई बलपुर्वक नै भए पनि रोकिदिनु भनी राजा गीर्वाणयुद्ध विक्रम शाहको भाकाबाट आदेश पत्र पठाए । नेपाल सरकारको तर्फबाट पठाईएको औपचारिक प्रत्युत्तर-पत्र निर्धारित ठाउँमा नपुग्दै तोकिएको २५ दिनको म्याद पूरा भइसकेकाले कम्पनी सरकारका गोरखपुर क्षेत्रका अंग्रेज प्रशासकले आफ्ना तीन कम्पनी जति सैनिकहरुलाई बुटवल, स्यूराज क्षेत्रका विवादित भु-भागहरु बलपुर्वक आफ्नो नियन्त्रणमा लिन पठाए । कम्पनी सरकारले आफ्नो यस कदममा नेपाल सरकारको तर्फबाट कुनै पनि किसिमको प्रतिरोध नगरिएकाले आफ्ना केही सैनिक त्यही नै राखी बाकी सैनिकहरु  फिर्ता भएका थिए ।
  अंग्रेज सेना नायकको नेतृत्वमा आएका कम्पनी सरकारका सैनिकहरु त्यहांबाट हटेर जाने बित्तिकै मुख्तियार जनरल भीमसेन थापाको निर्देशन अनुसार उनका पिता जनरल अमर सिंह थापाले सरदार जगदेव भण्डारीको नेतृत्वमा सुवेदार दले थापा, सुवेदार जयन्त शाही र सुवेदार मणिराज फौजदार समेतको कमाण्डमा ३ कम्पनी जति नेपाली सैनिकहरु कारवाहीका लागि तयार गराई अंग्रेजी सैनिक पदाधिकारीहरुले स्थापित गराएका उनीहरुका पुलिस थाना(ठाना)हरु माथि बि.सं. १८७१ जेष्ठ २८ गते तदानुसार ८ जुन १८१४ का दिन जोडदार आक्रमण गराए । सो आक्रमणमा कम्पनी सरकारका १८ जना पुलिसकर्मीहरु मारिए र ६ जना घाईते भएका थिए । साथै ‘स्युराज’ नेपाल-अंग्रेज बीच युद्ध शुरुआतकाे केन्द्र बिन्दु बन्न पुग्याे ।
   उक्त घटना पश्चात नेपालले वुटवल र स्यूराज क्षेत्र आफ्नो पकडमा लिन सफल भयो तर नेपाल सरकारको उक्त कारवाहीबाट कम्पनी सरकार अत्यन्त क्रुद्ध भयो । वर्षाको समय भएकोले तत्कालै कम्पनी सरकारबाट कुनैपनि सशक्त प्रतिक्रिया भएन तर नेपाल-अंग्रेज बीचको युद्ध भने टारेर टार्न नसकिने भयो । लडाई टार्न नसकिने अवस्था रहेकोले दुवैतर्फ लडाईको लागि तयारी शुरु भयो । नेपालसंग युद्ध गर्न पनि स्युराज क्षेत्र कब्जा गर्नै पर्ने देखिएकाले चाैतर्फी व्यापक युद्धकाे तैयारी शुरु भयाे ।
     बुटवल तथा स्यूराजमा घटेको घटनालाई निहु बनाएर सन् १८१४ नाेवेम्बर १ मा कम्पनी सरकारका गर्भनर जनरल लार्ड माैइरा ले औपचारिक रुपले नेपाल विरुद्ध युद्धको घोषणा गरेर अंग्रेज- नेपाल युद्ध शुरु भएको थियो । नेपालको ईतिहासमा सर्वाधिक विशाल नेपाल बनेको त्यस अवस्थामा पूरै राज्य वैरी विरुद्धको लडाईमा सन् १८१४ देखि १८१६ सम्म होमिनु परेको थियो । हाल कपिलस्तु जिल्लामा रहेको शिवगढी किल्लामा पनि नेपाली फौजले अंग्रेजलाई हराएको थियो।
सन् १८१६ मा भएको सुगौली सन्धिमा नेपालले आफ्नो एक तिहाई भूभाग तात्कालिन ब्रिटिस शासित इस्ट इण्डिया कम्पनी लाई सुम्पनु परेको थियो जुन हाल भारतमा गाभिन पुगेकाे छ तथापि सो लडाईबाट असंख्य नेपाली वीर वीरांगनाको अतुलनीय बलिदानीका कारण वीरहरुको देश भनी नेपाल संसारभर प्रसिद्ध हुन पुग्यो ।
(स्राेत-श्री कालीजंग गण, गोरुसिंगे ब्यारेक भिजिट कार्यक्रम सम्बन्धि प्रकाशित पत्र , विकिपेडिया , नेपालकाे इतिहासबाट सम्पादित)

धेरै कमेन्ट गरिएका