काठमाडौं, कात्तिक २५ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की सम्बन्धी सबै रिटको सुनुवाई मंसिर १६ गतेदेखि हुने भएको छ ।
न्यायाधीशहरु डाक्टर आनन्दमोहन भट्टराई, जगदिश पौडेल र इश्वर खतिवडाको पूर्ण इजलासले अधिवक्ता ओमप्रकाश अर्यालले विभिन्न मितिमा दायर गरेका ५ वटा रिटमा मंसिर १६ देखि एकैसाथ सुनुवाई गर्ने फैसला गरेको हो ।
अधिवक्ता अर्यालले अख्तियार प्रमुखमा लोकमानलाई नियुक्त गर्न नहुने, नियुक्तिका लागि योग्यता नपुगेको, महाअभियोग दर्ता भइसकेकाले सेवा सुविधा फिर्ता लिनुपर्ने, लोकमानकै निर्देशनमा उनका ज्वाइँ तथा छिमेकी लगायतले म्याद तामेल गर्न नदिएर हुलहुज्जत गरेको लगायतका ५ वटा रिट दायर गर्नुभएको थियो ।
सर्वोच्चले म्याद तामेलीमा अवरोध गरे नगरेको बारे जवाफसहित ७ दिनभित्र अदालतमै उपस्थित हुन लोकमानलाई आदेश दिइसकेको छ । यसबारेको जवाफ पनि प्राप्त भएपछि मंसिर १६ देखि सबै मुद्दाको एकसाथ सुनुवाई गर्ने फैसला सर्वोच्चको पूर्ण इजलासले गरेको हो ।
यसैबिच लोकमानले सर्वोच्चले ७ दिनभित्र जवाफसहित उपस्थित हुन गरेको आदेशको म्याद बुझेको सर्वोच्च अदालतले जनाएको छ । अख्तियारका निलम्बित प्रमुख लोकमानले आजको ७ दिनभित्र जवाफसहित आफै सर्वोच्च उपस्थित हुनुपर्नेछ ।
3