तिप्ताला नाका बन्द हुँदा चार वर्षदेखि भन्सार राजस्व शून्य स्थानीय उत्पादन निकासी नहुँदा घर चलाउनै मुस्किल
काठमाडौ ।
ताप्लेजुङस्थित चीनसँगको सीमानाका लामो समयदेखि बन्द हुँदा ओलाङचुङगाेला भन्सार कार्यालय ठप्प भएको छ। देशभरका अन्य भन्सार कार्यालयले करोडौँ राजस्व संकलन गरिरहँदा ओलाङचुङगोला भन्सार कार्यालयले पछिल्लो चार वर्षदेखि एक पैसा पनि राजस्व संकलन गर्न सकेको छैन।
कोभिडको जोखिम बढेसँगै चीनतर्फको उत्तरी नाका बन्द भएपछि राजस्व संकलन हुन नसकेको हो। फक्ताङलुङ गाउँपालिका– ७ को ओलाङचुङगोलाको तिप्ताला नाका बन्द हुँदा त्यसको प्रभाव भन्सारको राजस्व संकलनमा परेको हो। जिल्ला सदरमुकामबाट तीन दिनको पैदलयात्रापछि पुगिने फक्ताङलुङ गाउँपालिकाको ओलाङचुङगोलामा भन्सार कार्यालय रहेको छ।
ओलाङचुङगोलादेखि करिब एक दिनमा पुगिने तिप्ताला भञ्ज्याङ चीनसँगको नाका हो। सो भञ्ज्याङबाट चीन प्रवेश हुन्छ। तर, नाका कोभिडकालदेखि नै बन्द गरेको हो। नाका बन्द हुँदा भन्सारको कारोबार पनि ठप्प भएको कोष तथा लेखा नियन्त्रण कार्यालय ताप्लेजुङले जनाएको छ।
ओलाङचुङगोला भन्सारको रेखदेख कोष तथा लेखा नियन्त्रण कार्यालय ताप्लेजुङले गरिरहेको छ। यहाँबाट कोभिडभन्दा अगाडि पनि खासै राजस्व संकलन भने हुने गरेको थिएन। आयात–निर्यातको गतिविधि ठप्प भएपछि ६ वर्षयता भन्सार कार्यालय लगभग निष्क्रिय छ। कोभिडपछि भने राजस्व संकलन शून्यमै झरेको छ।
उक्त भन्सार कार्यालयमा कर्मचारीको दरबन्दी भए पनि कर्मचारी भने छैनन्। भन्सार प्रमुखको रूपमा एक नायब सुब्बा, एक खरिदार र एक कार्यालय सहयोगीको दरबन्दी भए पनि अहिले कर्मचारी नभएका निमित्त कोष नियन्त्रक दुर्गा थापाले बताए। गत चैतमा नासु हरिबहादुर खड्का भन्सार कार्यालयमा आएका थिए। तर, एक महिना नबित्दै सरुवा भएर गएका उनले जानकारी दिए।
चीनतर्फको नाका लामो समयदेखि बन्द रहेको र त्यसका कारण आयात निर्यात ठप्प हुँदा राजस्व संकलन प्रभावित भएको हो। पुरानै हिसाबले सञ्चालनमा रहेका नाकाहरू चिनियाँ पक्षबाट सहज रूपमा खुलेको छैन। सीमा क्षेत्रको ३० किलोमिटरभित्रका मानिसलाई निश्चित अवधिको पास दिएर आवतजावत गर्न दिने कुरामा पनि चिनियाँ पक्ष सकारात्मक नरहेकाे बताइएको छ।
कोभिडको निहुँ बनाएर अहिलेसम्म नाका नखोलिँदा फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले प्रधानमन्त्रीलाई भेटेर नाका खुलाउन पहल गरिदिन अनुरोधसमेत गरेका थिए। नाका नखोलिँदा त्यस क्षेत्रमा उत्पादित घ्यू, छुर्पी, गलैँचालगायतका घरेलु सामग्री तथा चौँरी, याक निर्यात हुन सकेको छैन।फाइल तस्बिर
