रुससँगको संयुक्त लगानीमा भारतमा विद्युतीय रेल बनाइँदै

सेयर गर्नुहोस

भारत र रुसबीच १२० वटा विद्युतीय रेल उत्पादन गर्ने संयुक्त लगानीको कम्पनी भारतमा स्थापना गर्ने सम्झौता भएको छ। लामो दूरीमा सञ्चालन हुने १२० वटा रेल बनाउन रुसको सबैभन्दा ठूलो रेल निर्माता कम्पनी ट्रान्सम्यास होल्डिङ र भारतीय कम्पनी रेल विकास निगम लिमिटेड (आरभिएनएल)बीच सम्झौता भएको हो।

यात्रीलाई सुत्ने सुविधाका साथ निर्माण गरिने एउटा रेलको मूल्य एक अर्ब ४० करोड पर्नेछ। ‘बन्दे भारत’ नामका ती रेलका अधिकांश डिब्बामा वातानुकूलन प्रणाली पनि जडान हुनेछ। दुवै समूहले लगानी गर्ने कम्पनीको नाम किनेट रेलवे सोलुसन्स लिमिटेड हुनेछ। कम्पनीमा आरभिएनएलको २५ प्रतिशत लगानी हुने रुसी समाचारपत्र कमर्सन्टले जनाएको छ।

महाराष्ट्रको लातुरामा कम्पनी स्थापना गरेर निर्माण प्रारम्भ गरिनेछ। सम्झौताअनुसार अबकोे पाँच वर्षभित्रमा रेल बनाइसक्नुपर्नेछ। उक्त कम्पनीले नै ३५ वर्षसम्म कारखानाका उपकरण तथा रेलको मर्मत सम्भार गर्नेछ। उलान–उडे लोकोमोटिभ प्लान्टको भ्रमणका क्रममा ट्रान्समास होल्डिङका महानिर्देशक किरिल लिपालाई रुसी प्रधानमन्त्री मिखाइल मिसुस्टिनले सम्झौताबारे जानकारी दिएका हुन्।

ट्रान्समास होल्डिङका महानिर्देशकका अनुसार भारतीय रेलवेका सहकर्मीसँग मिलेर परियोजनाको अर्को चरणको काम शीघ्र प्रारम्भ गरिनेछ। ट्रान्समास होल्डिङ आधुनिक रेल निर्माणमा ख्यातिप्राप्त कम्पनी हो, जसले विश्वका ३० देशमा रेल डिजाइन, इन्जिन र अन्य उपकरण निर्माण तथा आपूर्ति गर्दै आएको छ।

Facebook Comments Box