विजयनगरले विदेशबाट आएका घरमा रातो चिन्ह राख्दै
राम प्रघट कोरी
चैत्र १७ –विजयनगर
विजयनगर गाउँपालिकामा गाउँपालिका बाहिर र विदेशबाट आएका व्यक्तिहरुको घरमा रातो चिन्ह राखिने भएको छ । प्रत्येक वडामा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत सोमबारदेखि रातो चिन्ह राख्ने लागिएको हो ।
कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिए पछि हालसम्म आएका व्यक्तिहरुको घरमा उनीको पहिचानका लागि रातो चिन्ह राख्न लागेको हो ।
भारत वा अन्य मुलुकबाट आएका नागरिकमा कोरोना सङ्क्रमणको उच्च जोखिम रहने भएकाले उनीहरुको पहिचानका लागि रातो चिन्ह राख्न लागिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभयो ।
गाउँपालिकाले बाहिरबाट आएका व्यक्तिहरुको तथ्याङ्कीय विवरण निकाले लगतै यो अभियान चालेको प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभयो । गाउँपालिकाले ३ सय ९३ घरमा रातो चिन्ह राख्न लागेको उहाँले बताउनुभयो ।
रातो चिन्ह राखिएको घरको पहिचान हुनुको साथै संक्रमणबाट सचेत पनि हुने र तथ्याङ्क सङ्कलनमा सहज हुने भट्टराईले बताउनु भयो ।