चन्द्रौटा चोकमा सोलार बत्ती जडान

२४ कात्तिक, कपिलवस्तु । शिवराज नगरपालिकाको चन्द्रौटा चोकमा सोलार बत्ती जडान गरिएको छ । जिल्ला विकास समिति, नगरपालिका, निर्वाचन क्षेत्र विकास कार्यक्रमको सहयोगमा पहिलो चरणमा चन्द्रौटा बजार क्षेत्रमा सोलार बत्ती जडान गरिएको हो ।
नगरपालिकाले गएको आर्थिक वर्षमा ७ लाखको लागतमा सोलार बत्ती जडानको योजनासहित मन्त्रालयमा मागपत्र पेश गरेको थियो । चन्द्रौटाको मुख्य चोकहरुमा राख्नका लागि स्थानिय विकास मन्त्रालयसँग दुई वाट सोलार प्लान्ट माग गरी जडान गरिएको नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद ढकालले बताए ।
शिवराज नगरपालिकालाई रातीको समयमा पनि सुरक्षित र झकिझकाउ पार्ने उद्देश्यले नगरका मुख्य चोकहरुमा सोलार बत्ती जडान गर्ने योजना नगरपालिकाको रहेको ढकालले बताए ।
बत्ती जडान भएपछि सबैलाई रातिमा हिँड्न सजिलो भएको स्थानीय निसार अहमदले बताए । सोलार बत्ती जडान भएपछि प्रहरीलाई रातीमा ड्युटी गर्न पनि सजिलो भएको वडा प्रहरी कार्यलाय चन्द्रौटाले जनाएको छ ।
सडकमा बत्ती नहुँदा रातीमा चोरीको डर हुन्थ्यो तर सोलार बत्ती जडान भएपछि डर हराएको स्थानिय रामप्रसाद यादवले बताए ।
