जिल्ला प्रवेशमा रोक लगाउने कुरा सरकारले सहँदैन : मन्त्री शर्मा

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अधिकारको पक्ष भन्दैमा कोही पनि व्यक्तिलाई जिल्ला प्रवेश गर्न रोक लगाउने कुरा सरकारलाई सह्य नहुने बताएकी छन्।
शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएकी हुन्। उनले पहिचानको नामकरणको विषयलाई लिएर कोशी प्रदेशमा भइरहेको गतिविधि अराजक रहेको बताइन्।
नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईलाई बिहीबार गृहजिल्ला प्रवेश गर्ने क्रममा आक्रमणको प्रयास भएको थियो। सोही विषयमा मन्त्री शर्माले सरकारले अराजक गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने बताइन्।
उनले कोशी प्रदेशको नामका बारेमा भइरहेको आन्दोलनलाई प्रदेश सांसद र मुख्यमन्त्रीसँग छलफल गरेर निकास निकाल्नुपर्ने बताइन्। उनले केन्द्र सरकारले पनि यसमा सहयोग गर्ने बताउँदै उनले नयाँ बन्ने प्रदेश सरकारले यसको निकास दिने बताइन्।
उनले भनिन्, ‘पहिचानको नामकरणको विषयलाई लिएर तत्कालीन प्रदेश नम्बर १ र अहिलेको कोशी प्रदेशका विषयमा जसरी बाहिर कुराहरु उठे, घटना भयो, त्यतिमात्रै होइन, आन्दोलनका क्रममा एक जनाको ज्यानसमेत गयो। प्रधानमन्त्रीज्युले बालुवाटार बोलाएर यस्ता आन्दोलन नगर्न पनि आग्रह गर्नुभयो। तर पछिल्ला केही दिनमा यस्ता गतिविधि आइरहेका छन्। यसमा मेरो के भन्नु छ भने सरकारको तर्फबाट भन्दा कसैले पनि लोकतन्त्रमा आफ्ना कुरा राख्न पाउँछ, आफ्ना अधिकारको पक्ष पोषण गर्न पाउँछ, आफ्नो ठाउँमा छ तर त्यसका नाममा कसैले कसैलाई जिल्ला प्रवेश निषेध गर्ने भन्ने कुरा राम्रो कुरा होइन। त्यो गर्नु हुँदैन। अराजकतामा जानु हुँदैन, प्रदेशका मुख्यमन्त्री, सांसदहरुसँग छलफल गर्नुपर्छ। यसको निकास खोज्ने कुरामा हामी गम्भीर छौँ।’
मन्त्री शर्माले ठूला वा सानाभन्दा पनि सरकारले अनियमितता गर्ने व्यक्तिलाई नछोड्ने बताइन्। उनले भ्रष्टाचारका घटनामा प्रमाण पुगेपछि घटनामा संलग्न दोषी नउम्किने बताइन्।