विस्फोटका घटनामा संलग्न आरोपित पक्राउ
रुपन्देही : रुपन्देहीका विभिन्न स्थानमा बम विस्फोटका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले आज भैरहवामा पत्रकार सम्मेलन गरी घटनामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको हो।
प्रहरीले पक्राउ गरी सार्वजनिक गरेका अभियुक्त रुपन्देहीको सियारी गाउँपालिका–४ धमसरका २७ वर्षीय अब्दुल हाकिम खान, कोटहीमाई गाउँपालिका–३ पर्सियाका २२ वर्षीय सुरज लोहार र कोटहीमाई–४ का २४ वर्षीय सुरज थारु रहेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए।
३ दिनअघि पक्राउ परेका व्यक्तिहरुबाट लु८५प ६२२१ र लु २० प २५७२ नम्बरको पल्सर मोटसाइकल र विभिन्न मोडलका मोबाइल फोनसमेत बरामद गरिएको प्रहरी उपरीक्षक विकले जानकारी दिए।
उनीहरुले वैशाख १ गते रुपन्देहीको सियारी गाउँपालिका–४ स्थित सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घरपछाडिको पर्खाल नजिकै प्रेसरकुकर बम राखेको प्रहरीले जनाएको छ। उक्त बम नेपाली सेनाको विस्फोटक टोलीले डिस्पोज गरेको थियो।
असार १ गते बिहान २:३० बजे सिद्धार्थनगर नगरपालिका–४ स्थित भैरवप्रसाद कलवारको शिवम इम्पेक्सको कम्पाउन्डमा पर्खालबाहिर प्रेसरकुकुर बम विस्फोट गराएको र सोही दिन नै बिहान ६:१० बजे मायादेवी गाउँपालिका–८ स्थित सिद्धार्थनगर सिटी हस्पिटलको पछाडि रहेको खाली जग्गामा विस्फोटक पदार्थ (प्रेसरकुकुर बम) विस्फोट गराएको घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ।
उनीहरुले घरनजिकै बम राख्ने र फिरौती रकम माग्ने गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद, ७ ‘विस्फोटक पदार्थसम्बन्धी कसुर’ शीर्षकमा मुद्दा दर्ता भई रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ।
