विजयनगर न्यायिक समितिमा एक बर्षमा ६८ वटा उजुरी
कृष्ण पौडेल विजयनगर।।
कपिलवस्तुको विजयनगर गाउँपालिकाको न्यायिक समितिमा आर्थिक बर्ष ०७९÷८० मा जम्मा ६८ वटा उजुरीहरु परेका छन । न्यायिक समितिमा परेका उजुरीहरु मध्ये ४७ वटा न्यायिक समितिबाट फछ्यौट भएका छन ।
न्यायिक समिति संयोजक तथा विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीका अनुसार जग्गा सिमा विवाद, ज्यालादारी,पारिवारिक हिसाँ, महिला हिसाँ गाली बेइजति लगायतका सम्बन्धमा न्यायिक समितिमा उजुुरी परेको हो । गाउँपालिकामा नागरिकहरुमा चेतना स्तरमा वृद्धि भए संगै न्यायिक समितिमा उजुरीहरु पर्ने संख्यामा पनि वृद्धि भएको उपाध्यक्ष चौधरीले बताउनु भयो । “खास गरी मधेश समुदायका महिलाहरु घरेलु हिंसामा पर्ने र उनीहरु परिवार समाजको डरले र कहाँ उजुरी गर्ने भन्ने बारे जानकार नहुदाँ पिडा सहेरै बस्ने गर्थे तर अहिले गाउँपालिकामा उपाध्यक्ष कै संयोजकमा न्यायिक समिति सक्रिय भए पछि मधेशी मूलका र अन्य मूलका महिला हिंसाका घटनाहरुको उजुरी पर्ने गरेको छ ।” उपाध्यक्ष चौधरीले भन्नु भयो ।
न्यायिक समितिमा आउने समान्य किसिमका उजुरीहरुमा दुबै पक्षलाई बोलाएर छलफलबाट मेलमिलाप गराउने गरिएको छ । सिमा विवाद , ज्याला सम्बन्धि उजुरीहरुमा छलफलबाट नै टुङ्गाइने उपाध्यक्ष चौधरीले बताउनु भयो । गम्भिर किसिमका घटनाहरुलाई भने पिडितलाई न्यायिक समितिको सहयोगमा प्रहरी देखि अदालत सम्म पुर्याइने उहाँले बताउनु भयो । आर्थिक बर्ष ०७९÷८० मा पालिकाको न्यायिक समितिमा जग्गा विवाद सम्बन्धि २४ , ज्याला रकम सम्बन्धि १२, पारिवारिक हिंसा ९ र गाली बेइजति सम्बन्धमा २ वटा र अन्य विभिन्न शीर्षकमा २१ वटा उजुरी परेको उपाध्यक्ष चौधरीले बताउनु भयो ।
दोस्रो कार्यकालका लागि निर्वाचित भए पश्चात पालिकाका महिलाहरुको आर्थिक स्थितीमा सुधार नभए सम्म महिला माथी हिंसा भइरहन्छ भन्ने विषयलाई राम्रो संग बुझेर उपाध्यक्ष चौधरीले महिला शशक्तिकरण थुप्रै कार्यक्रमहरु पालिकामा संचालन गर्नु भएको छ । महिलाहरुलाई आर्थिक आय संग जोड्न सिप मूलक तालिमहरु संचालन भएको छ ।
गाउँपालिकामा रहेका विभिन्न महिला समुहहरुलाई आय आर्जनमा टेवा पुग्ने किसिमका कार्यक्रम संचालन गरिएको उपाध्यक्ष चौधरीले बताउनु भयो । महिलाहरुका लागी अचार बनाउने तालिम चाटफुल्की तालिम ,सिलाइ कटाइ तालिमबाट पालिका करिब एक सय बढि महिलाहरुले सिप लिएका छन । सिप सिके पछि व्यवसायिक बन्नका लागि गाउँपालिकाबाट सहयोग प्रदान गर्ने निति आ.ब. ८०÷०८१ मा लागु हुने उपाध्यक्ष चौधरीले बताउनु भयो । उपाध्यक्ष चौधरीले आ.ब. ०७९÷८० मा ४ सय जना सुत्केरी महिलाहरुलाई पोषणयुक्त खानकुरा बच्चा स्याहार समाग्री सहितको कोसेली वितरण गर्नु भएको छ । गाउँपालिकामा महिलाहरुमा हुने प्रजनन स्वास्थ्यका लागी स्किनिङ तथा व्यवस्थापन सम्बन्धी शिविर संचालन गरिएको उपाध्यक्ष चौधरीले बताउनु भयो ।
आर्थिक बर्ष ०८०÷८१ मा पनि महिला तथा किशोरीहरुका लागी विशेष कार्यक्रमहरु ल्याउने तयारीमा रहेको उपाध्यक्ष चौधरीले बताउनु भयो । महिला उद्यमीहरुलाई पालिकाले विषेश प्रोत्साहनको कार्यक्रम ल्याउने पनि उहाँले बताउनु भयो । महिलाहरु सक्षम सबल शसक्त भए मात्रै समग्र गाउँपालिकाको विकास हुने हुदाँ महिलाहरुको आर्थिक ससक्तिकरणका कार्यक्रमहरु संचालन गरिने उपाध्यक्ष चौधरीले बताउनु भयो ।
