परीक्षाबिनै लाइसेन्स दिने ३ कर्मचारी अख्तियारको फन्दामा

सेयर गर्नुहोस

काठमाडौं : लिखित तथा प्रयोगात्मक परीक्षा बिना नै पास गराउने यातायात व्यवस्था कार्यालय धनगढी कैलालीका ३ कर्मचारी अख्तियारको फन्दामा परेका छन्।

कार्यालयका तत्कालीन प्रमुख लक्ष्मण शाही तत्कालीन सहायक कम्प्युटर अपरेटर नरेन्द्रकुमार कठरिया र कम्प्युटर अपरेटर पवनकुमार रावलले आर्थिक वर्ष ०७८/७९ मा प्रयोगात्मक परीक्षामा फेल भएका परीक्षार्थीलाई उत्तीर्ण गराएको र लिखित परीक्षामा उत्तीर्ण नभएका तथा परीक्षामा समावेश नभएका सयौं परीक्षार्थीलाई प्रयोगात्मक परीक्षामा सामेल गराई लाइसेन्स वितरण गरेका थिए।

उनीहरुले ४ सय ६३ जनाको परीक्षाको नतिजा फेरबदल गरेका अख्तियारले जनाएको छ।

अख्तियारमा परेको उजुरीमाथि अनुसन्धान गर्दा तत्कालीन प्रमुख शाहीको आधिकारिक युजर आइडी प्रयोग गरी ए बी, सी/सी वान, के र जे वान का सवारीचालक अनुमति पत्रको लागि लिइएका लिखित परीक्षामा अनुत्तीर्ण भएका १८० जनाको परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण गराएको पाइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

उनका अनुसार उत्तीर्ण गराइएका १८० परीक्षार्थीमध्ये १३ जनाको उत्तरपुस्तिकामा परीक्षकले दिएको प्राप्तांकलाई रिराइट, ओभरराइटसमेत गरी सच्याएको पाइएको छ।

साथै, वर्ग ए, बी, ई, जी र के का लाइसेन्सका लागि लिइएको प्रयोगात्मक परीक्षामा उपस्थित नै नभएको ३९ जना, फिल्ड प्रतिवेदनको प्राप्तांकमा पुनर्लेखन, ओभरराईट गरी उत्तीर्ण बनाइएका २३ जना र परीक्षामा अनुत्तीर्ण भएका २२१ जना गरी जम्मा २८३ जना परीक्षार्थीको फिल्ड प्रतिवेदनको नतिजा फेरबदल गरेको अख्तियारले दायर गरेको रिटमा उल्लेख छ।

उनीहरुमध्ये २१ जना परीक्षार्थीको नतिजासमेत तत्कालीन प्रमुख शाहीकै आधिकारिक युजर आइडीबाट स्वीकृत गरेको पुष्टि हुन आएको प्रवक्ता दाहालले बताए।

अर्का कर्मचारीहरु कठरिया र रावलले पनि आफ्नो युजर आइडी प्रयोग गरी तत्कालीन प्रमुख शाहीले राखेको विवरण आफ्नो युजर आइडीबाट स्वीकृत गरेको पाइएपछि प्रतिवादी बनाईएको अख्तियारले जनाएको छ। अख्तियारले प्रतिवादी तीनैजनालाई प्रचलित कानूनअनुसार हदैसम्म कारबाहीको माग गरेको छ।

Facebook Comments Box