९ दिनपछि फैलियो देशभर मनसुन

सेयर गर्नुहोस

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले  मनसुन देशभर फैलिएको बताएको छ।

उसले नियमित बुलेटिनमार्फत् मनसुन देशभर विस्तारित भएको बताएको हो।

‘आजबाट मनसुन प्रणाली नेपालभर फैलिएको छ। नेपालमा यस वर्षको मनसुन औसत मिति भन्दा एक दिन ढिला गरी जेठ ३१ गते कोशी प्रदेश, मधेश र गण्डकी प्रदेशको पूर्वी भूभाग र बागमती प्रदेशका अधिकांश भूभागमा आगमन भएको थियो,’ बुलेटिनमा भनिएको छ, ‘नेपालभर मनसुन फैलिन आगमनको दिनदेखि यस वर्ष ९ दिनको समय लागेको छ।’

त्यस्तै देशभर मनसुन फैलिएको र सक्रिय अवस्थामा रहेको हुनाले आगामी तीन दिनसम्म देशका धेरै स्थानहरूमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाका साथै सोही प्रदेशहरूका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पनि उसले बताएको छ।

‘मनसुनको समयमा बाढी, पहिरो, डुबान, भूक्षय, बाटो हिलाम्य हुने, तथा गेग्रान बहा सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। त्यसैले, खराब मौसमका कारणले हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ बुलेटिनमा भनिएको छ।

Facebook Comments Box