पालिकामा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने काम तीव्र

सेयर गर्नुहोस

काठमाण्डौ – पालिकामा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने काम तीव्र भएको छ ।

योजना निर्माणका विभिन्न तह पार गरी पालिकाहरु नीति तथा कार्यक्रम र बजेट ल्याउने अन्तिम तयारीमा जुटेका छन् ।

काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिकालगायत कतिपय पालिकाले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।

स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार सबै ७ सय ५३ वटै पालिकाले असार १० गते भित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट आ–आफ्नो गाउँ/नगर सभामा पेस गर्नुपर्छ।

बजेटमा चालू आर्थिक वर्षको राजस्व र व्ययको यथार्थ विवरण तथा आउँदो आर्थिक वर्षका योजना तथा कार्यक्रम र आय/व्ययको अनुमानित विवरण समावेश गर्नुपर्छ ।

पालिकाले आफ्नो आन्तरिक राजस्व र आयबाट प्राप्त रकम, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलगायतका आधारमा वार्षिक बजेट निर्माण गर्नुपर्छ ।

सङ्घ र प्रदेशबाट प्राप्त हुने अनुदान खुम्चिएको र आन्तरिक आम्दानीको स्रोत परिचालन कमजोर बनेपछि सङ्घ र प्रदेश सरकारको जस्तै धेरैजसो पालिकाको बजेटको आकार घट्ने देखिएको छ ।

सङ्घीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले गएको असार १ गते बजेट सार्वजनिक गरिसकेका छन् ।

Facebook Comments Box