बाढीपहिरोले विद्यार्थीको पढाइ प्रभावित
ताप्लेजुङ : ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिरोका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ।
बाढीपहिरोका कारण बाटो घाटो अवरुद्ध भएकाले विद्यालय जाने अवस्था नहरेकाले सिदिङ्वा र सिरिजंघा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको हो।
गत शुक्रबार, बनिवार र आइतबार निरन्तर वर्षाका कारण बाढीपहिरोले सिरिजंगा गाउँपालिका–८ आम्फुदीनका रहेको कञ्चजंगा माध्यमिक विद्यालय उच्च जोखिममा रहेको छ। सो विद्यालय जोखिममा पर्दा त्यहाँ अध्ययनरत १२२ विद्यार्थीको पढाइ प्रभावित भएको सिरिजंगा गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ। जताततै पहिरो गएकाले बाटो अवरुद्ध भएको छ। बाढीले पुल बगाएसँगै खोला तरेर जान सम्भव नभएकाले सिरिजंगा गाउँपालिकाले अनिश्चितकालका लागि विद्यालय बन्द गरेको सिरिजंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलले बताए।
सिरिजंगा गाउँपालिकामा ४२ वटा विद्यालय सञ्चालनमा छन्। बाढीपहिरोका कारणले अहिले गाउँपालिकाका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन्। त्यस्तै सिदिङ्वा गाउँपालिकामा ३९ वटा विद्यालय रहेको छ। सिदिङ्वा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाका अनुसार ३९ विद्यालयमा तीन हजार एक सय विद्यार्थी अध्ययनरत छन्। तर, अहिले बाढी पहिरोका कारण सबै शैक्षिक संस्था बन्द गरिएको बेघाले बताए।
बाढीपहिरोका कारण आउँदो बर्खे बिदामा मिलाउने गरी साउन ६ गतेसम्मका लागि विद्यार्थीलाई बिदा दिएको गाउँपालिकाले जनाएको छ। निरन्तर वर्षा र बाढीपहिरोले विद्यालय आउजाउमा समस्या भएकाले पाथीभरा याङ्वरक गाउँपालिकाले यही असार ८ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको गाउँपालिकाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सिदिङ्वा गाउँपालिका–६ मेहेले गाउँमा गत शनिबार राति गएको बाढीपहिराले बगाएको चार जनामध्ये एकै घर परिवारका तीनजना अझै बेपत्ता रहेका छन्। एक जनाको सोही दिन शव फेला परेको थियो। सोही गाउँमा आइतबार बिहान पहिरोले तीनजना बगाएको थियो। एक घरका बाबु छोराको शव भेट्टिएको थियो भने एक जना नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर अहिले विराटनगरको न्युरो अस्पतालमा उपचार भइरहेको छ।
