भारतीय प्रधानमन्त्री मोदी योग दिवस मनाउन अमेरिका प्रस्थान, बाइडेनसँग भेट्दै

सेयर गर्नुहोस

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पहिलो ऐतिहासिक राजकीय भ्रमणका लागि मङ्गलबार संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।

अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री मोदीले ट्वीटमा लेखेका छन्, ‘अमेरिका प्रस्थान गर्दै छु, जहाँ म न्यूयोर्क शहर र वासिङ्टन डीसीमा हुने कार्यक्रमहरूमा सहभागी हुनेछु । ती कार्यक्रमहरूमा योग दिवस मनाउने, राष्ट्रपति बाइडेनसँग वार्ता गर्नेलगायतका कार्यक्रम छन् ।’

प्रधानमन्त्री मोदीलाई अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले भ्रमणको निमन्त्रणा दिएका थिए । भ्रमणको सुरुवात न्युयोर्कबाट हुनेछ जहाँ मोदीले जून २१ मा संयुक्त राष्ट्रसंघ मुख्यालयमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने कार्यक्रमको नेतृत्व गर्नेछन् ।

प्रधानमन्त्री मोदी त्यसपछि वासिङ्टन डीसी प्रस्थान गर्नेछन्, जहाँ उनले जून २२ मा ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनलाई भेट्नेछन् । राष्ट्रपति बाइडेन र प्रथम महिला जिल बाइडेनले सोही दिन साँझ प्रधानमन्त्रीको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् ।
प्रधानमन्त्री मोदीले जून २२ मा अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । रासस

Facebook Comments Box