ध्वजे डाँडामा २२ देशको झण्डा
धनकुटा : पर्यटकलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित ध्वजे डाँडामा सार्क राष्ट्रसहित विश्वका विभिन्न २२ देशको झण्डा राखिएको छ।
गाउँपालिकाले सोमबार कार्यक्रम गरेर अध्यक्ष जितेन्द्र रुम्दाली राईसहित २२ जना अतिथिबाट एकै साथ झण्डा फहराइएको छ।
झण्डोत्तोलन गर्दै अध्यक्ष राईले पर्यटकलाई आफ्नो देशको झण्डामार्फत आकर्षित गरेर पर्यटन प्रवर्द्धन गर्न झण्डा राखिएको जानकारी दिए।
आगामी दिनमा यस स्थानमा बाँकी भएका संसारका सबै देशका झण्डा पनि राखिने उनले जानकारी दिए।
पर्यटन मन्त्रालयको पाँच लाख, गाउँपालिकाको एक लाख २५ हजार र जनसहभागितामा ती झण्डा राखिएको हो।
सूर्योदय हेर्न र घरबास सेवा (होमस्टे)का लागि प्रख्यात यो स्थान समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको छ।
पूर्वी नेपालका हिमाल, पहाड र तराईका दृश्यहरू हेर्न सकिने ध्वजे डाँडा पूर्वी नेपालको सीमाङ्कनमा अक्षांश र देशान्तर निर्धारण गर्नका लागि आधार मानिन्छ।
