गलवान झडपको तीन वर्ष : भारत–चीनबीच घटेन तनाव

सेयर गर्नुहोस

दुई देशबीच निरन्तर वार्ता भए पनि सहमतिको प्रयास विफल, विवादित सीमा क्षेत्रमा सैनिक उपस्थिति बढ्दो
सीमामा तनाव भए पनि चीनसँग भारतको व्यापार भने बढेको बढ्यै
नयाँदिल्ली । तीन वर्षअघि पूर्वी लद्दाखको गलवानमा भएको सैन्य झडपले बढाएको भारत र चीनबीचको तनाव अझै सामान्यीकरण हुन सकेको छैन । दुवै देशका अधिकारी पटकपटक वार्तामा बसे पनि सीमा क्षेत्रमा शान्ति ल्याउने ठोस आधारहरू पहिल्याउन सकेका छैनन्, जसका कारण दुई देशबीच सीमामा कुनै पनि बेला तनाव उत्पन्न हुन सक्ने संशय यथावत् छ ।

सन् २०२० जुन १५ मा गलवान घाँटीमा दुवैतिरका सैनिकहरू एकआपसमा भिडेका थिए । सीमा क्षेत्रमा गस्तीमा रहँदा हतियारको प्रयोग नगर्ने सम्झौता भने दुवैले पालना गरेका थिए । दुवै पक्षका सैनिकबीच हिंस्रक झडप भएको थियो । त्यसमा २० जना भारतीय र ४ जना चिनियाँ सैनिक मारिएको सञ्चारमाध्यमले जनाएका थिए । उक्त घटनापछि दुवै देशका सैन्य अधिकारीबीच १८ पटकसम्म वार्ता भइसकेको छ । तर, ती वार्तामा दुवै देशबीचको वास्तविक नियन्त्रण रेखाको विषयमा कुनै सहमति हुन सकेको छैन । सीमा छुट्याउने नियन्त्रण रेखाको विषयमा दुई देशबीच विवाद छ ।

संघाई सहयोग संगठन (एससीओ), जी–२० र ब्रिक्स जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा दुई देशका उच्चस्तरीय राजनीतिज्ञहरूको भेट निरन्तर भइरहेको छ । पछिल्लो पटक गत मे ४–५ मा गोवामा एससीओको विदेशमन्त्री तथा अप्रिल २७–२८ मा एससीओकै रक्षा मन्त्रीस्तरीय बैठक भएको थियो ।

त्यसमा पनि भारत र चीनका समकक्षीबीच साइडलाइन वार्ता भए । तर, त्यसले पनि परिणाम दिएको छैन । गत साता भारतीय विदेशमन्त्री एस जयशंकरले चीनसँग निरन्तर आफूहरू संवादमा रहेको र सीमामा शान्ति नभएसम्म सम्बन्ध अगाडि बढाउन समस्या हुने बताएका थिए । भाजपा सरकारको ९ वर्ष पूरा भएको अवसरमा विदेश मामिलाको उपलब्धि सुनाउने क्रममा उनले चीनसँग सम्बन्ध सहज नभइसकेको बताए ।

चीनसँगको सम्बन्ध त्यतिबेला मात्रै राम्रो हुन सक्छ, जतिबेला सीमा क्षेत्रमा शान्ति हुनेछ,’ उनले भने, ‘भएका सम्झौता वा हुने सम्झौताको पालना हुनुपर्छ । सम्झौता उल्लंघन गरेर सम्बन्धलाई अगाडि बढाउन समस्या हुन्छ ।’ शान्ति कायम गर्ने प्रयासहरूसँगै दुवै देशले सीमा क्षेत्रमा बढाउँदै लगेको सैन्य तैनाथीले युद्धको तयारीलाई झल्काउँछ । अन्तर्राष्ट्रिय मिडियाहरूले दिएको रिपोर्टका अनुसार दुवै देशले लद्दाख क्षेत्रमा ५० हजारभन्दा बढी सैनिकलाई तैनाथ गरेका छन् । गतवर्ष डिसेम्बरमा अरुणचलको तवांग नजिकै यांग्त्से क्षेत्रमा पनि सैनिकहरू आमनेसामने परेका थिए । उनीहरूबीच झडपसमेत भएको थियो ।

सीमामा कुनै पनि बेला तनाव हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै भारतले उत्तरी सीमामा सैन्य सामग्री र सैनिकको तैनाथी बढाउँदै लगेको छ । सीमासम्म सैन्य सामग्री पुर्‍याउन बाटोहरूको निर्माणलाई प्राथमिकता दिएको छ । सीमासम्म भौतिक पूर्वाधारहरूको निर्माण यतिबेला भारतको प्राथमिकतामा परेको छ ।

१९६२ मा दुवै देशबीच युद्ध भइसकेको छ । त्यसको पराजयको घाउ भारतले बिर्सिन सकेको छैन । त्यसैले युद्ध भइहाल्ने स्थिति आएमा त्यसको पूर्वतयारीलाई भारतले जोड दिएको देखिन्छ । उता, चीनले पनि सीमा क्षेत्रमा ठूलो सैन्य बन्दोबस्ती तयार पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाउँदै आएका छन् ।

गलवान घटनाको तीन वर्ष भएको दिन कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले ट्वीट गर्दै सरकारको दोषपूर्ण नीतिका कारण सीमा क्षेत्रका ६५ पेट्रोलिङ प्वाइन्टमध्ये २६ प्वाइन्टमाथि भारतले अधिकार गुमाएको आरोप लगाएका छन् । यस विषयमा धेरै पटक संसद्मा कुरा उठाउन खोजे पनि नपाइएको भन्दै उनले मोदी सरकारले देशलाई ‘अँध्यारोमा राख्न खोजेको’ आरोप लगाएका छन् ।

सीमामा तनाव भए पनि चीनसँग भारतको व्यापार भने लगातार बढेको छ । धेरै सामानका लागि चीनमाथि भारतको निर्भरता बढ्दै गएको आयातको तथ्यांकले देखाएको छ । सन् २०२०–२१ मा चीनसँग भारतको व्यापारघाटा ४४.३३ अर्ब अमेरिकी डलर थियो । लद्दाखको भिडन्तपछि व्यापार घाटा झनै बढ्यो । सीमामा तनाव बढेकै वर्ष चीनसँगको द्विपक्षीय व्यापारमा ४३.३ प्रतिशतले वृद्धि हुन पुग्यो ।

एकातिर दुश्मनी र अर्कोतिर सस्तो सामानका लागि चीनमाथिको निर्भरताले भारत समस्यामा परेको छ । सन् २०२१ मा चीनसँग भारतको व्यापार १ सय २५ अर्ब डलरको थियो । त्यसमा ९४.५७ अर्ब डलरको सामान भारतले चीनबाट आयात गरेको छ । जबकी २८.१ अर्ब डलरको सामान मात्रै चीनमा निर्यात गरेको छ । त्यसभन्दा अघिल्लो वर्ष दुई देशबीच भएको ८६ अर्ब डलरको व्यापारमा आयातको हिस्सा ६५ अर्ब डलर थियो ।

गतवर्ष दुई देशबीचको व्यापार १ सय ३६ अर्ब डलर पुग्यो । सोही वर्ष चीनसँग भारतको व्यापार घाटा एक सय अर्ब डलर पार गरेको छ । २०१४–१५ मा यस्तो व्यापार घाटा ४८ अर्ब डलर थियो । ९ वर्षमा व्यापार घाटा दोब्बरले वृद्धि भएको छ । त्यस्तै, २००३–२००४ मा चीनबाट हुने आयात ४.३४ अर्ब डलरको मात्रै थियो । त्यसको १० वर्षपछि २०१३–०१४ मा व्यापार बढेर ५१.०३ अबर डलर पुगेको थियो । सन् २०२१ मा व्यापार सय अर्बको सीमालाई नाघ्दै १ सय २५ अर्ब डलर र २०२२ मा १ सय ३६ अर्ब डलर पुगेको छ ।

औषधि बनाउने कच्चा पदार्थदेखि इलेक्ट्रोनिक सामान, इलेक्ट्रिक मेसिनरी धेरै सामानको आयात भारतले चीनबाट गर्दै छ । प्लास्टिकबाट निर्मित सामग्री, गार्मेन्ट, जुत्ता, चप्पल, खेलौना, अर्गानिक केमिकल, स्पेयर पार्ट्स, टेलिभिजन, मोबाइल, सवारीसाधनका पार्टपुर्जा, आइरन र स्टिलजस्ता सामानको आयात चीनबाट हुने गरेको छ । ईकान्तिपुर

Facebook Comments Box