अब पाँच हजार रुपैयाँमै सम्बन्धित जिल्लाबाट राहदानी

सेयर गर्नुहोस

काठमाडौं : राहदानी विभागले आइतबारदेखि लागू हुने गरी ६६ पृष्ठको राहदानी सम्बन्धित जिल्लाबाट पाँच हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ।

यसअघि जिल्ला प्रशासन कार्यालयले १० हजार लिएर उपलब्ध गराउँदै आएको राहदानी यही असार ३ गते आइतबारदेखि पाँच हजार रुपैयाँमा उपलब्ध गराउने विभागका निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटाले बताइन्।

‘सम्बन्धित जिल्लाबाट राहदानी लिएको खण्डमा पाँच हजार र राहदानी विभागबाट लिन चाहेमा १२ हजार रुपैयाँ लाग्नेछ’, उनले भनिन्। यसैगरी हराएको र बिग्रिएको राहदानीको हकमा विभागबाट लिन चाहेमा १७ हजार तथा जिल्लाबाट लिन चाहेमा १० हजार रुपैयाँ लाग्नेसमेत प्रवक्ता सापकोटाले जानकारी दिइन्।

गत जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले ६६ पृष्ठको राहदानी ३४ पृष्ठको राहदानीबराबरको मूल्यमा सेवाग्राहीलाई उपलब्ध गराउने निर्णय गरेको थियो । यसअघि राहदानी विभागले जिल्ला प्रशासन कार्यालयबाट ‘फ्रिक्वेन्ट फ्लायर’ (समय–समयमा विदेश गइरहने) लाई ६६ पृष्ठको राहदानी रु १० हजारमा सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको थियो।

राहदानी विभागले आज ७७ वटै जिल्ला प्रशासन कार्यालय, राहदानी सेवा प्रदान गर्ने इलाका प्रशासन कार्यालय र विदेशस्थित सबै नेपाली नियोगलाई परिपत्र गरेर राहदानी दस्तुरसम्बन्धी जानकारी गराइएको जनाएको छ।

शुक्रबार पत्राचार गरिएको उक्त परिपत्रमा मन्त्रिपरिषद्को निर्णयअनुसार ६६ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर ३४ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर सरह कायम गर्ने गरी संशोधन गरिएको र यही असार ३ गते आइतबारदेखि संशोधित दस्तुर लागु गर्न निर्देशन दिइएको विभागले जनाएको छ।

Facebook Comments Box