साझेदारी बनमा निवार्चित पदाधिकारीलाई सपथ ग्रहण
विजयनगर ।
कपिलवस्तुको गौतमबुद्ध साझेदारी बन व्यवस्थापन समितिमा निवार्चित पदाधिकारीले सपथ ग्रहण गरेका छन् । साझेदारी बनको कार्यालय उज्जवलपुरमा शुक्रबार नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराइएको हो । साझेदारी बनको अध्यक्षमा निर्वाचित प्रवेज आलम खाँ, उपाध्यक्ष सिमा अर्याल लगायत व्यवस्थापन समितिमा निर्वाचित सदस्यहरुले सपथ ग्रहण गरेका छन् । डिभिजनल बन अधिकृत बसेन्द्रराज सुबेदीले साझेदारी बनमा निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका हुन् ।
सपथ ग्रहण कार्यक्रममा बोल्दै गौतमबुद्ध साझेदारी बनका अध्यक्ष प्रवेज आलम खाँले गौतमबुद्ध साझेदारी बनको व्यवस्थापनमा अहम भूमिका रहने बताएका छन् । उनले विगतको भन्दा बनको ऐन, कानुनको परिधिभित्र रहेर साझेदारी बनको संरक्षण तथा प्रवद्र्धनमा लाग्ने प्रतिबद्धतासमेत जनाए । उनले सरकारको उद्देश्य अनुसार डिभिजन वन कार्यालय, स्थानीय तह र वन उपभोक्ताको साझेदारीमा तोकिए बमोजिम बनको व्यवस्थापन गर्दै जाने बताए । बनहरूले देशको सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण योगदान रहने बताउँदै बनको संरक्षण गर्न मेरो दायित्व भएको अध्यक्ष खाँको भनाई छ ।
यस्तै गौतमबुद्ध साझेदारी बनका उपाध्यक्ष सिमा अर्यालले वनको विकास र दिगो व्यवस्थापन गरी स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने खालको काम गर्ने बताइन् । उनले वन क्षेत्रबाट टाढा रहेका उपभोक्तालाई वन संरक्षणको कार्यमा सहभागी गराई त्यस्ता उपभोक्ताहरुको आवश्यकता अनुसार वन पैदावार आपूर्तिको प्रयास गर्ने बताउँदै यस साझेदारी बनको संरक्षणको लागि सबै टीम लाग्ने प्रतिबद्धतासमेत जनाइन् ।
