कल बाइपास गर्ने नेपाली र चिनिया नागरिक पक्राउ

सेयर गर्नुहोस

काठमाडौं : अवैधरूपमा कल बाइपास गर्ने एक नेपाली र एक चिनिया नागरिक ललितपुरबाट पक्राउ परेका छन्।

ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा अवैध अन्तर्राष्ट्रिय कल/एसएमएस बाइपासमा संलग्न रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।

ब्यूरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार चिनिया नागरिक ३२ वर्षीय झाओ जियाङपेङ र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी घर भई काठमाडौं महानरगपालिका–१६ सोह्रखुट्टे बस्ने २२ वर्षीय गणेश श्रेष्ठ पक्राउ परेका हुन्।

ललितपुर महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा गैरकानुनीरूपमा शंकास्पद गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले केही दिनदेखि खोजतलास गरिरहेको थियो ।

सोही क्रममा खरिबोटस्थित घर भाडामा लिई नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई अवैधरूपमा कल तथा एसएमएस बाइपास गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट तीन हजार ७०० थान प्रयोग गरेका र नगरेका एनसेलको सिम बरामद गरिएको छ । यस्तै झण्डै पाँच लाख नेपाली रुपैयाँ र डलरसहित विभिन्न मुलुकका पैसा पनि फेला परेको छ। उनीहरूमाथिपर दूरसञ्चार ऐन, २०५३ अन्तर्गत ललितपुर जिल्ला अदालतबाट आज म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।

Facebook Comments Box