महाकालेश्वरको दर्शन साँस्कृतिक कूटनीतिको नमुना : प्रचण्ड

सेयर गर्नुहोस

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका क्रममा भारतको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर धार्मिक कार्यक्रममा सहभागी हुनु साँस्कृतिक कूटनीतिको नमुना भएको प्रतिक्रिया दिएका छन्।

भारतको चार दिने भ्रमण सम्पन्न गरी शनिबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा महाकालेश्वर मन्दिरको धार्मिक कार्यक्रमबारे स्पष्ट पार्नुभएको हो ।

‘महाकालेश्वर मन्दिरमा मुख्य अतिथिले गेरुवस्त्र लगाउनुपर्ने प्रोटोकल रहेछ’, उनले भने, ‘मैले लगाउन नमान्ने हो भने भारतका जनताको मनमा चिसो पस्ने भो प्रधानमन्त्रीप्रति । यो एउटा सांस्कृतिक कूटनीतिको रूपमा किन नबुझ्ने!’

उनले धर्मनिरपेक्षताका नाममा धर्म विरोधी हुन नहुने बताए। ‘म मनैदेखि धर्मनिरपेक्षतावादी हो । तर धर्मनिरपेक्ष भनेको धर्म विरोधी हैन नि! सबै धर्मलाई समान व्यवहार गर्ने र राज्यले कुनैलाई काखापाखा गर्ने हुँदैन’ उनले भने, ‘म कम्युनिष्ट मात्र होइन प्रधानमन्त्री पनि हो । सबैलाई समेट्नुपर्छ, सबै धर्म र समुदायको सम्मान गर्नु हामी सबैको दायित्व हो ।”

उज्जैनस्थिल धार्मिक पर्यटकीयस्थलको चर्चा गर्दै उहाँले नेपालमा पनि धार्मिक पर्यटकीय क्षेत्रको विकासमा सरकारले जोड दिएको बताए।

Facebook Comments Box