नेपालमा भूकम्प आउँदा नेपालभन्दा भारत सरकार छिटो पुग्छ : भाजपा अध्यक्ष नड्डा
मुम्बई । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाले बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा वैदेशिक नीति गतिशील भएको जिकिर गरेका छन्। पुणेमा भएको भाजपाको महाराष्ट्र कार्यकारी समिति बैठकमा बोल्दै उनले खुला सिमाना रहेको छिमेकी मुलुकमा यदि भूकम्प आयो भने नेपाल सरकारभन्दा छिटो भारत पुग्ने दाबी गरेका डेकान हेराल्डले बताएको छ।
‘यदि आज नेपालमा भूकम्प आयो भने त्यहाँको सरकारभन्दा छिटो भारतीय सरकार सहयोग सामग्रीसहित पुग्छ,’ उनले भने, ‘जब श्रीलंका आर्थिक संकटमा पर्यो, भारत सहयोगका लागि तत्पर थियो।’
नेपालमा सन् २०१५ मा विनाशकारी भूकम्म गएको थियो। भौतिकरूपमा पनि ठूलो नोक्सानी बेहोरेको नेपालले सोही भूकम्पमा करिब ९ हजार मानिस गुमाएको थियो।
नड्डाले मोदी प्रधानमन्त्री बन्नु अगाडिको २० वर्षसम्म कोही पनि नेताले नेपाल र श्रीलंकाको भ्रमण नगरेको बताएका थिए। सन् २०१४ को चुनावपछि भारत र पास्तिानको सम्बन्धमा पनि सुधार भएको अध्यक्ष नड्डाले दाबी गरेका थिए।
