रसुवागढीमा म्याद थपेको थप्यै

सेयर गर्नुहोस

काठमाडौँ । उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाले पुनः आफ्नो व्यावसायिक उत्पादन मिति सारेको छ । यसै आर्थिक वर्षमा उत्पादन सुरु गर्ने भनेको रसुवागढीले पुनः उत्पादन मिति ३ महिनापछि सारेको हो । १११ मेगावाट क्षमताको नदी प्रवाही आयोजना निर्माण सुरु भएको १२ वर्षसम्म पनि सकिएको छैन ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् आयोजनामातहत निर्माण भइरहेको यस आयोजनाको तीन महिना म्याद थपिएपछि उत्पादन मिति असोज अन्त्यमा पुगेको छ । ०६८ कात्तिक २८ मा प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरेको आयोजनाको सुरुवाती उत्पादन मिति ०७६ पुस १५ मा थियो । तर ०७२ को भूकम्पको कारण देखाएर उत्पादन मिति सारेर ०७८ असारमा पुर्‍याइएको थियो ।

त्यसपछि ०७७ मा आएको भोटेकोशीको बढीले बाँधलगायत संरचनामा क्षति पुर्‍याएपछि समयमै आयोजना सक्न कठिनाइ भएको भन्दै कम्पनीले फेरि ०७९ फागुनसम्म उत्पादन मिति सारेको थियो । तर त्यस मितिमा पनि उत्पादन गर्न नसकेपछि समय लम्ब्याएर ०८० असारमा पर्‍याइयो । तर यस अवधिमा पनि नसकिएपछि अहिले पुनः ३ महिना समय थपिएको छ ।

रसुवागढी आयोजनाबाट ०७८ असारभित्र व्यावसायिक उत्पादन गर्ने लक्ष्य रहे पनि ०७७ मा आएको बाढीले बाँधस्थलको अस्थायी संरचनामा क्षति पुग्न गई निर्माण स्थगित गरिएको र अडिड सुरुङ जाने बेलिब्रिजमा क्षति पुगेका कारण उत्पादन समय लम्बिएको आयोजना प्रवक्ता नरनाथ न्यौपानेले जानकारी दिए । बाढीले पहुँचमार्गमा क्षति पुर्‍याएपछि पनि समयमा उत्पादन गर्न नसकिएको उनको भनाइ छ । ईकान्तिपुर

Facebook Comments Box