मोन्टी देसाईको हातमा जादुको छडी , ४ महिनाभित्र एकदिवसीय विश्वकप छनोटदेखि एसिया कपसम्म खेल्दै नेपाल

सेयर गर्नुहोस

काठमाडौँ । नेपाली खेलाडी र टोलीका अन्य पदाधिकारीहरू एसीसी प्रिमियर कपको फाइनल जितेपछि मैदानभित्रै धुमधामले खुसी साटिरहेका थिए । प्रशिक्षक मोन्टी देसाई भने नेपाली क्रिकेटसँग सरोकार राख्ने व्यक्तिहरूलाई मैदानभित्रै धन्यवाद भन्न व्यस्त देखिए ।

खाली खुट्टा विकेटको बीचमा क्युरेटर र कर्मचारीसँग निकै गफिएपछि उनी केही समयपछि मात्र मिडिया बक्सभित्र छिरे । ढिला आएकामा पहिला उनले माफी मागे । प्रिमियर कप जितेपछि प्राप्त पदक उनको हातमा थियो । मिडियाकर्मीलाई पदक देखाउँदै उनले भने, ‘यो क्षण खेलाडीहरूका लागि हो ।’
आधिकारिक दिन हिसाब गर्ने हो भने उनी नेपालको प्रशिक्षक बनेको तीन महिना पनि पुगेको छैन । जति बेला उनीसामु चुनौतीका चाङ थिए । पहिलो चुनौती उनको नियुक्तिलाई नै लिएर सुरु भयो । नेपाल आएर उनी साता दिनभन्दा बढी ‘आइसोलेट’ भएर बस्नुपर्‍यो । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले श्रमस्वीकृति अल्झाएर राजनीतीकरण गरेपछि उनी नेपालको प्रशिक्षक बनेको घोषणा हुन समय लाग्यो ।

यही समयमा उनीसामु अमेरिकाको प्रस्ताव पनि आइसकेको थियो । काठमाडौं आएर नेपालको प्रशिक्षक बनेको सार्वजनिक हुन नपाएका बेला यो प्रस्ताव आयो । तर, एक दशकदेखि उनी नेपाली क्रिकेटसँग नजिक थिए । विगतदेखि वर्तमानका खेलाडीसँग जोडिरहेका थिए । त्यसैले उनको मन बाहिर गएन । नेपाली क्रिकेटसँगको निःसर्त प्रेमका कारण मोन्टीले मन घुमाएनन् र कीर्तिपुर मैदानतिरै मोडिदिए ।

ग्ल्यामर्स र पैसाले भरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) मा झन्डै एक दशक प्रशिक्षण दिलाएको अनुभव छ । त्यसअघि उनी अफगानिस्तान र वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षक थिए । तर, उनमा एसोसिएट क्रिकेटको अचम्मको भोक छ । एसोसिएट र पूर्ण राष्ट्रबीचको दूरी छोट्याउन चाहन्छन् उनी । त्यसैले उनी यूएई, क्यानडा हुँदै नेपाल आइपुगेका हुन् ।

प्रिमियर कपको उपाधि दिलाउँदै नेपाललाई एसिया कपसम्म डोर्‍याएपछि उनी आफ्नै देश भारतविरुद्ध उत्रन तयार भएका छन् । यो सफलतापछि नेपालले भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । ट्वान्टी–२० विश्वकपमा बंगलादेश र एकदिवसीय विश्वकप छनोटमा जिम्बावेसँग बाहेक नेपालले माथिल्लो टोलीसँग खेल्न पाएको छैन । अब एसिया कपले नेपाललाई नयाँ उचाइमा पुर्‍याउनेछ । नेपाली क्रिकेटलाई उचाइमा पुर्‍याउने उनै मोन्टी हुन् । लाग्छ, नेपाल आउँदा उनले हातमा जादुको छडी पनि बोकेका थिए । जतिखेर उनी आएका थिए, उल्टो स्थितिमा थियो नेपालको क्रिकेट । नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता धरापमा थियो । विश्वकप लिग–२ का १२ मध्ये ८ खेल जितेमा मात्र नेपालको त्यो अन्तर्राष्ट्रिय मान्यता जोगिन्थ्यो । जबकि उनी आउनुअघि नेपालले लिग–२ का पछिल्ला ८ खेलमा एकमात्र जित पाएको थियो ।

मोन्टी पनि नेपालले सिधा बाटोबाट एकदिवसीय अन्तर्राष्ट्रिय जोगाउने सम्भावना रहेकोमा स्पष्ट थिएनन् । नेपालले लिग–२ का अन्तिम १२ खेल ३२ दिनको अन्तरालमा खेल्दै थियो । त्यसको दुई साताअघि मात्र उनी प्रशिक्षकको जिम्मेवारी सम्हाल्न नेपाल ओर्लिएका थिए । तयारीलाई छोटो समय थियो । बरु उनले प्रिमियर कप जित्दै एसिया कप खेल्ने सम्भावना रहेको भाव भने पहिलो पत्रकार सम्मेलनमै पोखेका थिए ।

प्रशिक्षकले आफूहरूसँग लिग–२ का बाँकी १२ खेल नै ‘फाइनल’ रहेको बताइरहेको कप्तान रोहित पौडेल सुनाएका थिए । नेपालले पनि सबै खेल फाइनल जसरी नै खेल्यो । त्यसपछि सबै इतिहास कोरिए । नेपालले लिग–२ को १२ मध्ये ११ खेल जित्यो । स्कटल्यान्ड र नामिबिया तथा यूएई र पपुवा न्युगिनीविरुद्धको दुई घरेलु शृंखला ‘क्लिन स्विप’ नै गर्‍यो । एकदिवसीय मान्यता जोगाउन संघर्षरत नेपालले अब ४ महिनाभित्र एकदिवसीय विश्वकप छनोटदेखि एसिया कपसम्म खेल्दै छ । उनी आएयता नेपालले १८ मध्ये १६ खेल जितेको छ र एकमात्र हार भोगेको छ ।

‘तीन महिनामा यी खेलाडीले दबाबमा खेल्ने अनुभव पाएका छन् । आफ्नै अपेक्षाको दबाब होइन, सिंगो राष्ट्रको अपेक्षाको दबाब,’ प्रिमियर कप जितेपछि मोन्टी भन्दै थिए, ‘अब उनीहरूले राम्रो प्लेटफर्म पाउनेछन् । आशा गरौं, हाम्रो भौतिक पूर्वाधारमा पनि सुधार हुनेछ, जसले हाम्रो सीप र एक्सपोजर बढाउन सक्नेछ ।’

मोन्टीको आफ्नै सिद्धान्त र दर्शन छन् । खेल सकिएपछि सबै विजयमा रमाइरहँदा उनी खाली खुट्टा विकेटतिर पुग्छन् । जितले ‘उन्माद’ ल्याउँदा खाली खुट्टा हिँड्दा आफू सतहमा छु भनेर थाहा पाउन सजिलो हुने उनको तर्क छ । मोन्टीको ‘ह्याप्पी ड्रेसिङ रुम’ र ‘वान बल ब्याटल’ सिद्धान्तले नेपाली टोलीमा ठूलो उथलपुथल ल्याएको छ ।

आफू आउनुअघि नेपाली खेलाडीहरू नै गुट–उपगुटमा रहेकामा उनी जानकार थिए । ‘ड्रेसिङमा रूममा समस्या छ भने त्यो टिमका खेलाडीले मैदानमा गएर खेल्न सक्दैनन्,’ मोन्टीले ‘ह्याप्पी ड्रेसिङ रुम’ सिद्धान्तको व्याख्या यसरी गरेका थिए । उनको सिद्धान्तमा ‘वान बल ब्याटल’ ले हरेक बल महत्त्वपूर्ण रहेको जनाउ गर्छ । टिमभित्र कोही पनि खेलाडीलाई एक्लै बस्न दिँदैनन् । कोही न कोही साथमा हुनुपर्छ भन्ने उनको सिद्धान्त छ । त्यसले नेपाललाई पुनः एउटा टिमका रूपमा खेल्न प्रेरित बनाइरहेको छ ।

यसको एउटा उदाहरण फाइनलमा पनि देखिएको थियो । भीम सार्की टोलीका सबैभन्दा फुर्तिला र सुरक्षित फिल्डर हुन् । तर उनै भीमले ललित राजवंशीको बलमा यूएईका आर्यन लार्काको प्रहार मिडविकेट बाउन्ड्रीलाइनमा क्याच फुत्काउन पुगे । यूएईले आठौं ओभरमा ३४ रन बनाइरहेको समयमा त्यो विकेट नेपालका लागि निकै महत्त्वपूर्ण थियो । अर्को ओभरमा करण केसीको पहिलो बलमा आरिफ शेखले क्याच लिँदै लार्कालाई पेभेलियन फर्काए । सबैले बधाई भने भीमलाई दिइरहेका थिए । अर्थात् टोलीका सबै खेलाडी ‘ठूलो गल्ती’ गर्न पुगेका भीमलाई साथ दिइरहेका थिए ।

गत वर्ष अमेरिकाको ह्युस्टन यात्रामा देखेको क्षण भने बिल्कुल फरक थियो । अमेरिकासँगको ‘टाई’ खेलको अन्तिम क्षण छाड्ने हो भने प्रायः खेलाडी विकेट लिँदा छुट्टाछुट्टै एक्लै जस्तो खुसी मनाइरहेका हुन्थे । ‘टिम हडल’ त दुर्लभ नै बन्यो । यसले नेपाल टिमको व्यवस्थापनलाई आजित बनाइसकेको थियो । एक वर्षको अन्तरमा तीन प्रशिक्षक परिवर्तन गरेपछि नेपाल आउने पालो मोन्टीको थियो । पछिल्ला दशकमा नेपालले प्रशिक्षकका लागि आवेदन माग्दा हरेक पटक जोडिएर आउने नाम थिए मोन्टी । तर आईपीएलसँग जोडिएका कारण उनी लामो समयका लागि नेपालको प्रशिक्षक भएर आउन सक्दैनथे ।

वर्षको २ सय ४० दिन काम गर्ने गरी यस पटक उनी नेपाल आएका थिए । उनीसामु अन्य धेरै राम्रो प्रस्ताव यसपालि पनि नभएको होइन । नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता धर्मराइरहेको अवस्थामा उनले २ वर्षका लागि सम्झौता गरेका थिए । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता गुमाए पनि उनी आफ्नो सम्झौताअनुरूप नेपालमै रहनेमा प्रतिबद्ध थिए ।

मोन्टीलाई प्रश्न सोध्नुअघि आफू पूर्ण तयार हुनुपर्छ । मिजासिलो हिसाबमा उनी उल्टै आफूलाई सोधिएको प्रश्नमा प्रश्न फर्काउँछन् । प्रिमियर कप जित्दै एसिया कपमा छनोट हुनुले नेपाली क्रिकेटमा कस्तो अर्थ राख्छ भनेर उनलाई प्रश्न सोधिएको थियो । त्यसको जवाफमा उनले भने, ‘यो प्रश्न त प्रशंसकलाई सोध्नुस्, उनीहरूका लागि यसले कस्तो अर्थ राख्छ भनेर ।’

वर्षाले मैदान पौडी खेल्नेजस्तो बनाउँदा पनि छाता ओढेर खेल रद्द भएको आधिकारिक घोषणा कुरेर बस्ने, रूखको हाँगाबाट पूरै खेल हेर्ने दर्शक र रंगशालामा ओर्लिएका दर्शकप्रति उनी नतमस्तक छन् । खेलका दौरान उनी बाउन्ड्रीलाइन फन्को लगाइरहेका हुन्छन् । दर्शक उनको हिँडाइमा ‘मोन्टी मोन्टी’ भन्दै उत्साह भरिरहेका हुन्छन् । त्यसले उनलाई थप ऊर्जा भर्ने सुनाउँछन् ।

Facebook Comments Box