१४ बैशाख २०८१, शुक्रबार

उपेन्द्रजी भारी मतले हार्दै हुनुहुन्छ : सीके राउत

जनमत पार्टीका अध्यक्ष सीके राउत यतिबेला बारा क्षेत्र नं २ को चुनावी अभियानमा होमिएका छन्। पार्टीका उम्मेदवार शिवचन्द्र कुश्वाहालाई विजयी गराउन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्न उनी आफैं त्यस क्षेत्रमा सक्रिय छन्। सप्तरीमा भारी मतान्तरले यादवलाई पराजित गरेका राउतले बारा २ मा पनि त्यस्तै परिणाम ल्याउँलान्? राउतसँग संचारकर्मी क्रान्ति साहले गरेको कुराकानी।

चुनाबी प्रचारमा आफैँ खटिनुभएको छ। कस्तो माहोल पाउनुभयो?
जनमत पार्टीप्रति बारा २ का जनतामा व्यापक जनहलर छ। यहाँका जनता र मतदाताले यसपाली परिवर्तन चाहेका छन्। त्यो पनि यहीँकै धर्तीपुत्रलाई जिताएर। किनकि यसअघि भएका चुनावमा यो क्षेत्रभन्दा बाहिरकाले जित्दै आएका थिए। त्यो इतिहासलाई यसपाली जनताले तोड्न चाहेका छन्। विगत १५ वर्षदेखि आफ्नो क्षेत्रभन्दा बाहिरकाले जित्दा विकासमा पछाडि परेको यहाँका जनताले महसुस गरिरहेका छन्। त्यसकारण जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाको पक्षमा जनलहर बढेको छ।

उसो भए तपाईँको पार्टीको मुख्य प्रतिस्पर्धी को?
अहिलेसम्म हाम्रो प्रतिस्पर्धी जसपा र उसका उम्मेदवार उपेन्द्र यादव नै देखिनुहुन्छ। तर उहाँ हामीभन्दा धेरै पछाडि हुनुहुन्छ। बारा २ मा हाम्रो लक्ष्य भनेको सप्तरीभन्दा पनि बढी मतान्तरले जित्ने छ। यसको आधार भनेको गत मंसिर ४ मा सप्तरी २ मा म आफैं चुनाव लड्दा हाम्रो पार्टी भर्खर भर्खर बनेको थियो। अहिले हाम्रो संगठन सबैतिर विस्तार भइसकेको छ। त्यसकारण पनि हामी बढी मतान्तरले विजयी हुन्छौं।

उपेन्द्र यादवले त आफ्नो प्रतिस्पर्धी कोही छैन भनेका छन् नि?
मंसिर ४ को निर्वाचनमा उपेन्द्रजीले सप्तरी २ मा पनि यही भन्नुहुन्थ्यो। नतिजा के कस्तो आयो? सबैलाई जगजाहेर नै छ। त्यो समय बितिकको धेरैदिन त भएको छैन। सप्तरीमा उहाँ मसँग दोब्बरभन्दा बढी मतले लजास्पद हार्नुपर्‍यो। उपेन्द्रजी र उहाँका कार्यकर्ताहरू हतास भइसकेका छन्। त्यसकाकारण यी सब कुतर्क गरिरहेका छन्।

जसपाका अध्यक्ष उपेन्द्र यादव आफैं उम्मेदवार हुनुहुन्छ। त्यसमा पनि उहाँलाई प्रमुख ५ दलको सर्मथन छ। यस्तो अवस्थामा तपाईँले यादवलाई भारी मतान्तरले हराउँछु भन्दै हुनुहुन्छ?
मिडियामा आएका सर्वेक्षणको रिपोर्ट हेर्नुस्। एउटामात्रै होइन, धेरै सर्वेक्षणहरू मिडयामा आइसकेका छन्। त्यसले नै पुष्टि गर्छ कि उपेन्द्रजी भारी मतले हार्दै हुनुहुन्छ। हामी सहजै जित्दैछौं। अर्को कुरा अहिले जनमत पार्टीप्रति बढ्दै गएको जनलहर बाढीजस्तै हो। यो बाढीले आफूलाई ठूलो हस्ती भनाउँदाहरूलाई कहाँ बगाएर लग्छ थाहा हुन्न। जहाँसम्म गठबन्धनको कुरा छ, त्यो त काठमाडौंमा बसेर ठूला नेताहरूले गरेका हुन्। जिल्ला, पालिका र वडास्तरमा कार्यकर्ताले गठनबन्धन गरेका होइनन्। तल्लो तहका कार्यकर्ताहरू दलका नेताहरूको दास पनि होइनन्। शीर्ष तहमा नेताहरूले पटक-पटक चुनावी गठबन्धन गरेका कारण ग्रास रुटमा खटिएका उनका अधिकांश कार्यकर्ता र नेताहरू रुष्ट छन्, आक्रोशित छन्। उनीहरूको मत पनि जनमतले नै पाइरहेको छ।

बारा २ मा सीके राउतले उठाएको उम्मेदवार शिवचन्द्र कुशवाहा गलत परे भन्नेहरू पनि छन् नि?
यो हास्यास्पद र बेतुकको कुरा हो। किनकि मंसिर ४ को निर्वाचनमा माओवादी-कांग्रेस गठबन्धनले कुशवाहालाई नै उम्मेदवार बनाएको थियो। अनि हिजो गठबन्धनले उम्मेदवार बनाउँदा कुशवाहा राम्रो र असल हुने अनि अहिले जनमत पार्टीले तिनै कुशवाहालाई उम्मेदवार बनाउँदाचाहिँ गलत अनि नराम्रो हुने? जनताको घरदैलो गएर सेवा गर्नसक्ने, दलितको सहारा बन्नसक्ने, जनताको सुखदुखमा साथ दिनसक्ने लोकप्रिय छबि भएका कुशवाहालाई जनमतले उम्मेदवार बनाएको हो। उहाँ जनतामाझ लोकप्रिय पहिल्यैदेखि नै हुनुहुन्छ। जनताको घरदैलामा हामी सँगसँगै पुगेर मत मागिरहेका छौं।
साभार – अन्नपूर्णापाेष्ट

धेरै कमेन्ट गरिएका

ताजा उपडेट