भोपाल कारागारका सात हजार कैदीले लिए डिप्लोमा

सेयर गर्नुहोस

एजेन्सी ।
भोपालको केन्द्रीय कारागारले शिक्षामा सबैको अधिकार सुनिश्चित हुनुपर्ने मान्यतालाई आत्मसात् गर्दै बितेको एक वर्षमा ६ हजार नौ सय कैदीलाई निःशुल्क शिक्षाको व्यवस्था गरेको छ। सोही अवधिमा ५७ जना बन्दी कारागारबाटै स्नातकोत्तर तहको परीक्षामा सहभागी भएका छन्।

भारत सरकारको ‘सबैका लागि शिक्षा’ अभियानअन्तर्गत केन्द्रीय कारागारले बन्दीहरूलाई अध्ययनको अवसर दिएको हो। कारगारमा रहेका ६ हजार नौ सय बन्दी गत वर्ष साक्षर भएका थिए। भोपाल केन्द्रीय कारागारका निरीक्षक राकेश भाङ्ग्रेका अनुसार गत वर्ष तीन सय कैदी स्नातक, ५७ जना स्नातकोत्तर, चार सय ६३ जना प्राथमिक शिक्षा, ९२ जना माध्यमिक र दुई सय ४३ कैदी उच्च माध्यमिक शिक्षा परीक्षामा सहभागी भएका थिए।

एक सय ५८ जना महिला बन्दी पनि विभिन्न तहका परीक्षामा सामेल भएका थिए। कारागारकै १० महिलाले कम्प्युटर शिक्षामा दक्षता हासिल गरेका छन्। कैदीहरूलाई साक्षर बनाउन तथा उनीहरूको शिक्षाको स्तर उकास्न केन्द्र सरकारको नीतिअनुसार अध्ययनको व्यवस्था मिलाइएको निरीक्षक भाङ्ग्रे बताउँछन्।

जेलमा डिप्लोमा तथा त्यसभन्दा माथिको उपाधि हासिल गरेपछि एक दिन कारागारबाट बाहिरिँदा उनीहरूको जीविकोपार्जनको माध्यम त्यही शिक्षा र सीप हुने उनी बताउँछन्। इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयका विभिन्न पाठ्यक्रममा आधारित कार्यक्रम कारागारमा सञ्चालन गरिएको जानकारी दिँदै निरीक्षक भाङ्ग्रेले ग्रामीण विकास, खाद्य तथा पोषण, एचआइभी, पारिवारिक शिक्षा, मानविकी एवं व्यवस्थापनका स्नातक र स्नातकोत्तर कार्यक्रम सञ्चालन भइरहेका बताएका छन् ।

निरीक्षक भाङ्ग्रेले अक्षर नै नचिनेका बन्दीलाई पहिचान गरी बिहान–बेलुका पढाइने गरेको बताए। उनका अनुसार साक्षर कैदीलाई कक्षा १० र १२ को परीक्षा उत्तीर्ण हुने गरी सिकाइने गरेको छ। विभिन्न स्थानीय निकाय र संघसंस्थासँगको समन्वयमा रिहा भएपछि उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने प्रयास पनि भइरहेको उनले बताए।

Facebook Comments Box